२०८२ वैशाख ०३ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन भएकी छन् ।दक्षिण एशियाली मुलुकबाट ११ जना प्रतिनिधि छानिदाँ नेपालबाट उपप्रमुख डंगोल मात्र चयन भएकी हुन् ।
डंगोल, यसअघि विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौं हवको सदस्य थिइन् । विभिन्न ५० देशबाट प्रतिनिधित्व रहेको यस समूहमा ७ क्षेत्रमध्ये सरकारको प्रतिनिधित्व गर्दै उपप्रमुख डंगोल चयन भएकी छन् । यस समूहमा ४० वर्षभन्दा कम उमेर भएका विश्वका ११६ जना युवा नेतृत्व छन् ।फोरमले उपप्रमुखको संक्षिप्त परिचय उल्लेख गर्दै आफ्नो वेभसाइटमा लेखेकोे छ, ‘उहाँ युवाहरुलाई प्रेरणा प्रदान गर्ने र सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्ने राजनीतिज्ञ हुनुहुन्छ ।’ चयन भएपछिको संक्षिप्त प्रतिक्रियामा उपप्रमुख डंगोलले थप जिम्मेवारी महसुस भएको बताइन् । उनले भनिन्, ‘विश्व स्तरीय मञ्चमा प्रतिनिधित्व गर्न पाउनुले थप जिम्मेवारी महसुस भएको छ । राजनीतिक क्षेत्रबाट विशिष्ट पद ग्रहण गरिसक्नुभएका व्यक्तित्वहरुसँगको सहकार्यबाट युवाहरुलाई नेतृत्वका लागि प्रोत्साहित हुने काम गरिनेछन् ।’
फोरमको युवा नेतृत्व समूहमा शैक्षिक क्षेत्रबाट १० जना, आर्ट, कल्चर एण्ड स्पोर्टस्बाट ८ जना, व्यापारिक क्षेत्रबाट ४९ जना, नागरिक समाजबाट ११ जना, मिडियाबाट ५ जना, सरकारबाट १९ जना, सामाजिक उद्यमशीलता क्षेत्रबाट १३ जना चयन भएका छन् । सरकार, व्यवसाय, नागरिक समाज, शिक्षा, मिडिया र कला क्षेत्रका नेतृत्वलाई एकै ठाउँमा ल्याएर आफूले नेतृत्व गरेको क्षेत्रसँगै समुदाय र बाहिरका क्षेत्रहरुको दिगो र सकारात्मक प्रभाव सिर्जना गर्नु नेतृत्व चयनको उद्देश्य हो ।
प्रतिक्रिया