२०८३ कात्तिक ०२ गते
काठमाडौँ । डेढ महिनादेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ । यही कात्तिक १ देखि ३ गतेसम्म नाका खुल्ने जनाइएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलपछि सो नाका आइतबारदेखि खुुला हुने भएको हो । सो अवधिमा मालवाहक सवारी कार्गो ट्रकलाई मात्र आवतजावत गर्न अनुमति दिइने छ ।
दसैँका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने मन्त्रालयले जनाएको छ । गत भदौ १० मा आएको भोटेकोशीको बाढीले रसुुवा नाकासँगको सम्पर्क टुुटेको थियो । साथै भदौ १४ मा चीनले तातोपानी नाकासमेत बन्द गरेको थियो ।
मन्त्री साहको निरन्तरको पहलपछि चिनियाँ पक्षले नेपाली पक्षको आग्रहलाई सम्बोधन गर्दै नाका अस्थायी रूपमा खोल्ने निर्णय गरेको हो ।
नेपाल–चीन व्यापारका लागि महत्त्वपूर्ण मानिने यो नाका अस्थायी रूपमा खुल्दा व्यवसायीलाई सामान भित्र्याउन अवसर मिल्ने छ ।
यसले नेपाल–चीन व्यापारिक आवागमनलाई सहजीकरण गर्नुका साथै चाडपर्वका बेला आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने मन्त्रालयले अपेक्षा गरेको छ ।
बाढीका कारण चीनसँगका दुवै नाका बन्द भएपनि दसैँलक्षित सामान आउन सकेको छैन । रसुुवाको भोटेकोशीले दसैँलाई लक्ष्य गरी ल्याएका तीन सयदेखि चार सय कन्टेनर बगेका र सवारीचालक सम्पर्कविहीन भएका थिए । रसुुवा र तातोपानी नाकाबाट दसैँमा धेरै सामान भित्रिने गरेका थिए । यो वर्ष दुुवै नाका बन्द भएपनि सामान आउन नसक्दा बजारमा अभावसँगै मूल्यसमेत बढेको छ ।
प्रतिक्रिया