चाडपर्वका बेला हुन सक्ने साइबर फ्रड रोक्न नेपाल राष्ट्र बैंकको कडाई, २४ सै घण्टा खटिने सम्पर्क व्यक्ति तोक्न निर्देशन

२०८३ असोज २८ गते

चाडपर्वका बेला हुन सक्ने साइबर फ्रड रोक्न नेपाल राष्ट्र बैंकको  कडाई, २४ सै घण्टा खटिने सम्पर्क व्यक्ति तोक्न निर्देशन

काठमाडौं । विजया दशमी, दीपावली तथा छठ पर्व, २०८३ को सार्वजनिक बिदाको समयमा विद्युतीय माध्यमबाट हुनसक्ने आर्थिक ठगी, साइबर फ्रड तथा स्क्यामका जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले कडा कदम चालेको छ। 

 

Advertisement:

Ad

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले अनुमतिपत्रप्राप्त सम्पूर्ण भुक्तानी प्रणाली सञ्चालक (पेमेन्ट अपरेटर)र भुक्तानी सेवा प्रदायक (पेमेन्ट सर्भिस प्रोभाइडर)  संस्थाहरूलाई चाडपर्वको समयमा अनुसन्धान प्रक्रियालाई सहज बनाउन विशेष निर्देशन जारी गरेको छ।   चाडपर्वका सुविधाहरू र किनमेलको क्रममा डिजिटल कारोबार बढ्ने हुँदा यसैको मौका छोपी आपराधिक गतिविधि हुन सक्ने जोखिमलाई ध्यानमा राखिएको केन्द्रिय बैंकले भनेको छ । 

 

 राष्ट्र बैंकद्वारा जारी सूचनाअनुसार अब सम्बन्धित संस्थाहरूले चाडपर्वको अवधिभर कारोबारको विवरण समयमै उपलब्ध गराउनु पर्नेछ। साथै, कुनै पनि शंकास्पद वालेट तथा कारोबार फेला परेमा तत्काल रोक्का गरी अनुसन्धान प्रक्रियामा सहयोग गर्नुपर्नेछ।   यसका लागि सबै भुक्तानी सञ्चालक र प्रदायक संस्थाहरूले अनिवार्य रूपमा एक जिम्मेवार सम्पर्क व्यक्ति तोक्नु पर्नेछ। 


तोकिएको व्यक्तिको नाम, पद, मोबाइल नम्बर र २४सै घण्टा  अनुगमन हुने ड्युटी इमेल ठेगानाको विवरण नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोको इमेल ठेगानामा पठाउन राष्ट्र बैंकले निर्देशन दिएको छ।   राष्ट्र बैंकको यो कदमले चाडपर्वका बेला डिजिटल भुक्तानीलाई सुरक्षित बनाउन र साइबर अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रहरीलाई तत्काल सहयोग पुग्ने अपेक्षा गरिएको छ।