२०८१ चैत १७ गते
काठमाडौ । संसदमा राजावादीलाई थुन्नुपर्ने आवाज केही संसदले उच्चारण गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आक्रोश पोखेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, 'संसदमा कसैले राजावादी हुँ भन्नेहरुलाई थुन्नुपर्छ भनेपछि छाति ठोकेर भनियो राजावादी यहाँ छ सके जेल हाल ।'
आइतबार प्रतिनिधिसभाको बैठक बसिरहेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । सत्ता पक्ष र प्रतिपक्षी दलका सांसद उठेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको हो । सत्ता पक्षका सांसदहरूले सदन सञ्चालनको माग गर्दै उठेका हुन् भने प्रतिपक्षी दलका सांसद प्रधानमन्त्रीको जवाफको माग गर्दै उठेका हुन् । संसदमा अवरोध हटाउनका लागि सभामुख देवराज घिमिरेले बैठक राखेका थिए । उक्त बैठकमा उनले तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएको भन्दै संसदमा छलफलको वातावरण बनाउन आग्रह गरे ।
तर प्रतिपक्षी दलले प्रधानमन्त्रीले जवाफ नदिँदासम्म बैठक सञ्चालन गर्न नदिने अडान कायमै राखेको छ । यता चैत १८ मा प्रधानमन्त्रीले जवाफ दिने सूचना आइसकेकाले बैठक अवरोध गर्नु जायज नहुने भन्दै सदन सञ्चालनको मागसहित सत्तापक्षले पनि उठेर सभामुखको ध्यानाकर्षण गराएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले कुलमान घिसिङ बर्खास्तीलगायतका विषयमा प्रधानमन्त्रीको जवाफको माग गर्दै संसदमा अवरोध गरिरहेका छन् ।
प्रतिक्रिया