२०८२ असार ३१ गते
काठमाडौं । विवादित ‘संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव आज राष्ट्रियसभामा प्रस्तुत हुने भएको छ। आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा घुस लिएको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभाबाट सन्देसहित प्राप्त निजामती सेवा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका हुन्।
मन्त्री गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुसको डिल गरेको अडियो सार्वजनिक भएपछि प्रतिपक्षीले सरकारको जवाफ माग गरेको छ। गुप्ताको घुस बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि तत्काल राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने भन्दै आलोचना हुन थालेको हो। निजामती सेवासम्बन्धी विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा जालझेल गरिएको भन्दै राज्यव्यवस्था समितिका सभापति र सांसदप्रति चौतर्फी प्रश्न उठेका छन्। अवकाश पाएका वा राजीनामा दिएका विशिष्ठ श्रेणीका कर्मचारीका लागि २ वर्ष कुलिङ पिरियड राखिएकोमा ‘बाहेक’ शब्द घुसाएको भन्दैसमिति सभापति रामहरि खतिवडासहित समितिका कर्मचारीमाथि प्रश्न तेर्सिएको छ ।
प्रतिक्रिया