विद्युत नहुँदा गोरखा चुमनुब्रीका बासिन्दा अन्धकारमा बस्न बाध्य, मोबाइल चार्ज गर्न एकै ठाउँमा धुइरो

२०८३ कात्तिक ०३ गते

विद्युत नहुँदा गोरखा चुमनुब्रीका बासिन्दा अन्धकारमा बस्न बाध्य, मोबाइल चार्ज गर्न एकै ठाउँमा धुइरो

गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजना बिग्रिएपछि उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३, जगतका बासिन्दा लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका छन्। विद्युत् सेवा पूर्ण रूपमा ठप्प भएपछि अहिले स्थानीयवासीलाई मोबाइल चार्ज गर्नसमेत सास्ती भएको छ।

गाउँमा बिजुली नभएपछि स्थानीयहरू घरमा भएका मल्टिप्लग बोकेर सामुदायिक स्वास्थ्य केन्द्र भवनअगाडि लामबद्ध हुने गरेका छन्। हालसम्म गाउँमा उपलब्ध सीमित जेनेरेटर चलाएर मोबाइल चार्ज गर्दै आए पनि अब पेट्रोलसमेत पूर्ण रूपमा सकिएको छ।

Advertisement:

Ad

“१० लिटर पेट्रोल रहेको जर्किन माथिल्लो घरमा राखिएको थियो। त्यसैबाट जेनेरेटर चलाएर मोबाइल चार्ज गरिरहेका थियौँ, अब त्यो पनि सकियो,” स्थानीय बलबहादुर गुरुङले भन्नुभयो। इन्धन सकिएपछि जेनेरेटरसमेत बन्द भई मोबाइल चार्ज गर्न थप समस्या सिर्जना भएको छ।

जलविद्युत् आयोजना ठप्प भएसँगै नेपाल टेलिकमको टावरमा रहेको ब्याट्री ब्याकअप सकिएर टेलिफोन र इन्टरनेट सेवा पनि पूर्ण रूपमा अफ भएको छ। नेपाल टेलिकमले सो टावरमा वैकल्पिक ऊर्जाका रूपमा सोलायर प्रणाली जडान नगरिदिएका कारण यस क्षेत्रका नागरिक सञ्चार सुविधाबाट पूर्ण रूपमा वञ्चित भएका हुन्।

सञ्चार सेवा अवरुद्ध भएपछि बाहिरको संसारसँग सम्पर्क गर्न स्थानीयवासी गाउँ नजिकैका अग्ला डाँडाहरूमा उक्लिने गरेका छन्। डाँडामा जाँदा कहिलेकाहीँ मात्र टावर टिप्ने र तल्लो क्षेत्रमा सम्पर्क हुने गरेको स्थानीय सरस्वती थापाले जानकारी दिनुभयो।

बाढीपहिरोले भौगोलिक रूपमा मात्र नभई जगतवासीलाई सञ्चार र प्रविधिको पहुँचबाट समेत टाढा धकेलेको छ। मुख्य चाडपर्वको मुखमा र सङ्कटको यस घडीमा विद्युत् तथा सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध हुँदा स्थानीयको जनजीवन अत्यन्त कष्टकर बनेको छ। समस्या समाधानका लागि सम्बन्धित निकायको समयमै ध्यान पुग्न नसकेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।