उद्योग वाणिज्य महासंघमा चन्द्र ढकालको तीन वर्ष : निजी क्षेत्रको मनोबल जोगाउन सफल भएको दाबी

२०८२ चैत २६ गते

उद्योग वाणिज्य महासंघमा चन्द्र ढकालको तीन वर्ष : निजी क्षेत्रको मनोबल जोगाउन सफल भएको दाबी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो तीनवर्षे कार्यकालमा निजी क्षेत्रको मनोबल जोगाउन सफल भएको दाबी गरेका छन् ।पत्रकार तथा सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले आफ्नो कार्यकाल सुरु हुँदा देशको अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा रहेको स्मरण गरे। 

 

Advertisement:

Ad
Ad

उनले कोभिड-१९ को प्रभाव, अन्तर्राष्ट्रिय द्वन्द्व, उच्च ब्याजदर, तरलता अभाव र नीतिगत अन्योलका कारण अर्थतन्त्र कमजोर बनेको उल्लेख गरे।'त्यस्तो जटिल अवस्थामा निजी क्षेत्रको मनोबल जोगाउने, आर्थिक गतिविधि चलायमान बनाउने र लगानीको वातावरण तयार गर्ने हाम्रो पहिलो प्राथमिकता थियो,' उनले भने।

 

ढकालले आफ्नो कार्यकालमा पाँच प्रमुख प्राथमिकता अघि सारिएको र ती सबै क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गरे। उनका अनुसार नीतिगत सुधारमा महासंघले परम्परागत मागकर्ताबाट अघि बढ्दै नीति निर्माण प्रक्रियामै सक्रिय भूमिका खेलेको छ।

 

उनले राष्ट्रिय आर्थिक बहसमार्फत सरकार, राजनीतिक दल र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याइएको र त्यसकै परिणामस्वरूप उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भई ३० भन्दा बढी कानुन सुधारका सिफारिस आएको बताए।

 

ढकालका अनुसार निजी क्षेत्रलाई ‘शान्ति क्षेत्र’का रूपमा घोषणा गरिनु र सरकारले निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति स्वीकृत गर्नु कार्यकालका महत्वपूर्ण उपलब्धि हुन्। यसले व्यवसाय र लगानीको सुरक्षा तथा सम्मान सुनिश्चित गरेको उनको भनाइ छ।

 

त्यसैगरी, राज्य र निजी क्षेत्रबीचको सम्बन्धलाई टकरावबाट सहकार्यमा रूपान्तरण गर्न सफल भएको दाबी उनले गरे। 'निजी क्षेत्रप्रति राज्यको दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको छ,'उनले उल्लेख गरे।

 

लगानी प्रवर्द्धनतर्फ महासंघले आन्तरिक तथा बाह्य लगानी आकर्षित गर्न ठोस पहल गरेको ढकालले बताए। उनले १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरी पूर्वाधार, उत्पादनमूलक उद्योग र स्टार्टअप क्षेत्रमा लगानीको नयाँ ढाँचा प्रस्तुत गरिएको जानकारी दिए।

 

संस्थागत सुधारतर्फ महासंघको विधान संशोधन गरी नेतृत्व चयन प्रक्रियालाई थप पारदर्शी, समावेशी र प्रतिस्पर्धी बनाइएको उनले बताए। साथै निजी क्षेत्रलाई दबाब समूहभन्दा माथि उठाएर विकास साझेदारका रूपमा स्थापित गर्न सफल भएको उनको भनाइ छ।

 

कार्यक्रममा उनले आर्थिक पत्रकारिताको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै सञ्चारमाध्यमले नीतिगत बहसलाई सशक्त बनाउन महत्वपूर्ण योगदान दिएको बताए।

 

कार्यकालको अन्त्यमा पत्रकार तथा सञ्चारकर्मीहरूको साथ, सहयोग र समर्थनप्रति कृतज्ञता व्यक्त गर्दै ढकालले आगामी दिनमा पनि महासंघ र सञ्चार क्षेत्रबीच सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे।