२०८३ असार १७ गते
काठमाडौँ। सात कारोबार दिनको लगातार गिरावटपछि नेप्सेमा हरियाली फर्किएको छ। बुधबार शेयर बजारमा लगानीकर्ताको उत्साह देखिँदा नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको हो। यस दिन नेप्से परिसूचक ४४.५९ अंकले वृद्धि हुँदै २६५२.९३ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०४ अंकले उकालो लागेको छ।
परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो कारोबार दिन मंगलबार ३ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ३६२ वटा स्टकको ५६ हजार ८५० पटकको कारोबारबाट ९५ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार रुपैयाँ पुगेको छ। यस दिन स्नो रिभर्स लिमिटेडको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीको शेयर मूल्य ६८ रुपैयाँ १० पैसाले बढ्दै प्रतिकित्ता ५२२ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको हो। त्यसैगरी, सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १४ प्रतिशतभन्दा बढी बढेको छ भने भुजुङ्ग हाइड्रोपावरको शेयर मूल्य पनि करिब १४ प्रतिशतले उकालो लागेको छ। विपरीत रूपमा, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ५.२१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक अग्रस्थानमा रहेको छ। बैंकको २८ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि रिलायन्स स्पिनिङ्ग मिल्सको करिब १७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम १७ करोड रुपैयाँ नाघ्दा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार पनि १६ करोड रुपैयाँभन्दा माथि पुगेको छ। बुधबार कारोबारमा रहेका सबै १३ उपसमूहका परिसूचक हरियो भएका छन्। तीमध्ये व्यापार उपसमूह सर्वाधिक २.६० प्रतिशतले बढेको छ। जलविद्युत, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहमा २ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ भने बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त तथा अन्य उपसमूहका परिसूचक पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।
प्रतिक्रिया