रसुवा बाढीबाट भएको क्षतिको बीमा दाबी गर्दा हदम्याद नलाग्ने

२०८३ असोज १३ गते

रसुवा बाढीबाट भएको क्षतिको बीमा दाबी गर्दा हदम्याद नलाग्ने

काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित बीमितले समयमै बीमा कम्पनीलाई जानकारी गराउन नसकेकै कारण दाबी भुक्तानीमा समस्या नआउने भएको छ । सामान्य हदम्याद नाघेको कारण देखाएर बीमा कम्पनीहरूले दाबी भुक्तानी रोक्न नपाउने गरी बीमा प्राधिकरणले व्यवस्था गरेको छ ।

 

Advertisement:

Ad

नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितको हितलाई ध्यानमा राख्दै दाबीको प्रारम्भिक सूचना दिन तोकिएको सामान्य हदम्याद लागू नहुने व्यवस्थासहित ‘रसुवा बाढी दाबी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि’ जारी गरेको छ।

 

प्राधिकरण सञ्चालक समितिबाट स्वीकृत ‘रसुवा बाढी दाबी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि’ अनुसार विपद्का कारण उत्पन्न विषम परिस्थितिमा बीमितले समयमै दाबीसम्बन्धी सूचना दिन नसकेको अवस्थामा पनि बीमा कम्पनीले दाबी अस्वीकार गर्न पाउने छैनन्।

 

बाढीका कारण प्रभावित क्षेत्रमा आवागमन अवरुद्ध भएको, सञ्चार तथा अन्य आवश्यक सेवामा समस्या आएको लगायतका परिस्थितिलाई ध्यानमा राख्दै प्राधिकरणले यस्तो विशेष व्यवस्था गरेको हो। सोही कारण ढिला गरी दाबीको प्रारम्भिक जानकारी प्राप्त भए पनि बीमा कम्पनीले दाबी स्वीकार गरी आवश्यक प्रक्रिया अघि बढाउनुपर्नेछ।