नाकामै थन्किए सामान, दशैँअघि बजारमा नआउने चिन्ता

२०८३ असोज १३ गते

नाकामै थन्किए सामान, दशैँअघि बजारमा नआउने चिन्ता

काठमाडौं । दशैँतिहार नजिकिँदै गर्दा चीनबाट नेपाल ल्याइएका चाडपर्व लक्षित सामान नाकामै थन्किन थालेका छन्। रसुवाको टिमुरे हुँदै नेपाल भित्रिनुपर्ने कपडालगायतका सामान बाढीका कारण केरुङमै रोकिएपछि व्यवसायीले वैकल्पिक मार्गका रूपमा मुस्ताङको कोरला नाका रोजेका थिए। तर पछिल्लो वर्षासँगै कोरला पुग्ने सडकसमेत अवरुद्ध भएपछि व्यवसायी थप समस्यामा परेका छन्।

 

Advertisement:

Ad

गत भदौ १० गते भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीले रसुवा हुँदै ल्याइएका कतिपय सामान बगाएको थियो। त्यसपछि केरुङमा बाँकी रहेका सामानमध्ये केहीलाई व्यवसायीले कोरला नाकातर्फ डाइभर्ट गरेका थिए। अहिले भने कोरला जोड्ने कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरो र सडक कटान भएपछि ती सामान पनि गन्तव्यतर्फ ल्याउन सकस भएको हो।

 

व्यवसायीका अनुसार दशैँ–तिहारका लागि चीनबाट ठूलो परिमाणमा कपडा तथा अन्य उपभोग्य सामान आयात गरिन्छ। तर नाकादेखि राजधानीसम्मको ढुवानी नै अनिश्चित भएपछि चाडपर्वको व्यापार प्रभावित हुने जोखिम बढेको छ।

 

नेपाल राष्ट्रिय व्यवसायी महासंघका निःवर्तमान अध्यक्ष कुमार कार्कीका अनुसार रसुवामा भन्सारतर्फ आइपुगेका सामान बाढीले क्षति पुर्‍याएपछि बाँकी सामान कोरला हुँदै ल्याउने प्रयास गरिएको थियो। तर सडक अवरुद्ध हुँदा दशैँअघि नै ती सामान काठमाडौं ल्याउन कठिन हुने अवस्था देखिएको उनको भनाइ छ।

चीनको नाका हुँदै लत्ताकपडा ल्याएर बिक्री गर्ने असनका व्यवसायी रामकुमार अधिकारी चिनियाँ नाकाहरु अवरुद्ध हुँदा उपभोक्ताले खोजेको मालसामान दिन नसकिएको बताउँछन्,'यही अवस्था रहे दशैंसम्म सामान आउन गाह्रो छ,सटर खोलेर मात्र भएन बजारमा माग भएको सामान बेच्न नपाए,'उनी गुनासो गर्छन् । 

कोरला नाका खुले पनि त्यहाँबाट काठमाडौंसम्म सामान आइपुग्न करिब तीन दिन लाग्ने व्यवसायी बताउँछन्। त्यसैले सडक तत्काल सञ्चालनमा आए पनि दशैँको मुख्य व्यापारिक समयअघि सामान बजारमा पुर्‍याउन समय अभाव हुने उनीहरूको चिन्ता छ।

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार पछिल्लो वर्षाले कोरला नाकामा हिउँ थुपार्नुका साथै नाकासम्म पुग्ने कालीगण्डकी करिडोरका विभिन्न खण्डमा यातायात प्रभावित बनाएको छ।

 

रसुवाको टिमुरे र तातोपानी नाकामा समस्या आएपछि चीनबाट आउने सामानलाई कोरला हुँदै ल्याउने व्यवस्था गरिएको भए पनि वैकल्पिक मार्गसमेत अवरुद्ध हुँदा उत्तरी नाकाबाट हुने आयातमा प्रत्यक्ष असर परेको मन्त्रालयले जनाएको छ।

 

यसले दशैँ–तिहारको बजारका लागि चीनबाट ल्याइएका कपडा तथा अन्य सामान समयमै नेपाल नआउने जोखिम बढाएको छ। व्यवसायीका लागि मुख्य चाडपर्वको व्यापारिक सिजन सुरु हुनै लाग्दा सामान नाकामै थन्किनु थप चिन्ताको विषय बनेको छ।