२०८३ मंसिर १० गते
काठमाडौं । नेपाल बैंकर्स संघको नयाँ अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी चयन हुने निश्चित भएको छ । संघको आगामी शुक्रबार हुने ४०औँ वार्षिक साधारण सभाबाट रेग्मी निर्विरोध अध्यक्ष बन्ने भएका हुन् ।
हाल संघको उपाध्यक्ष रहेका रेग्मीलाई अध्यक्षको जिम्मेवारी दिने सहमति जुटेको हो । संघमा लामो समयदेखि उपाध्यक्षलाई नै अध्यक्ष बनाउने अभ्यास रहँदै आएको छ । सोही परम्पराअनुसार रेग्मीले आगामी दुई वर्ष संघको नेतृत्व सम्हाल्नेछन् ।
रेग्मी अध्यक्ष बनेसँगै रिक्त हुने उपाध्यक्ष पदमा कुमारी बैंकका सीईओ रामचन्द्र खनाल आउने भएका छन् । संघका पदाधिकारी चयनबारे बुधबार भएको अनौपचारिक छलफलमा सर्वसम्मति जुटेको संघसम्बद्ध स्रोतले जनाएको छ ।राजधानीस्थित होटल मर्क्युरमा शुक्रबार आयोजना हुने साधारण सभाले नयाँ नेतृत्वलाई औपचारिकता दिनेछ ।
बैंकर्स संघमा पछिल्लो १३ वर्षदेखि उपाध्यक्षलाई अध्यक्ष बनाउने अभ्यास निरन्तर रहँदै आएको छ । हाल संघको कार्यसमितिमा अध्यक्ष कोइराला र उपाध्यक्ष रेग्मीसहित कुमारी बैंकका रामचन्द्र खनाल, नबिल बैंकका मनोज ज्ञवाली, नेपाल एसबीआई बैंकका रामकुमार तिवारी, प्राइम कमर्सियल बैंकका सञ्जीव मानन्धर, एभरेष्ट बैंकका सुदेश खालिङ, नेपाल बैंकका तिलकराज पाण्डे र लक्ष्मी सनराइज बैंकका पूर्वसीईओ अजयविक्रम शाह सदस्य छन् ।
नयाँ कार्यसमिति गठनसँगै दुई सदस्य बाहिरिने र दुई नयाँ अनुहार थपिने भएका छन् । दुई कार्यकालभन्दा बढी कार्यसमितिमा रहन नपाउने व्यवस्थाका कारण एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ बाहिरिने भएका हुन् । त्यस्तै, लक्ष्मी सनराइज बैंकमा आफ्नो कार्यकाल पूरा गरेका अजयविक्रम शाह पनि संघको कार्यसमितिबाट बाहिरिनेछन् ।
उनीहरूको स्थानमा सिद्धार्थ बैंकका सीईओ रामेश्वर बस्याल र सानिमा बैंकका सीईओ पवन आचार्य कार्यकारिणी सदस्यका रूपमा आउने तय भएको स्रोतले जनाएको छ । दुवै जनाले बुधबार नै मनोनयन दर्ता गराएको बताइएको छ ।
प्रतिक्रिया