२०८३ मंसिर ०६ गते
काठमाडौं । कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि ई–ट्याग बिक्री तथा वितरण सेवा सुरु गरेको छ। बैंकले आफ्ना विभिन्न शाखामार्फत उक्त सेवा उपलब्ध गराएको जनाएको छ।
ई–ट्याग विद्युतीय टोल भुक्तानी प्रणाली हो। यस प्रणालीमार्फत सवारीधनीले टोल बुथमा नरोकिई नगदरहित रूपमा टोल शुल्क भुक्तानी गर्न सक्नेछन्। सवारीसाधनमा ई–ट्याग स्टिकर टाँसेपछि टोल शुल्क स्वतः सम्बन्धित खाताबाट कट्टा हुने व्यवस्था छ।
यसले सुरुङमार्गको टोल बुथमा हुने भीडभाड र लामो लाइनको झन्झट कम गर्नुका साथै यात्राको समय बचत गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।
ई–ट्याग प्राप्त गर्न ग्राहकले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो र मोबाइल नम्बर लिएर नजिकको कुमारी बैंक शाखामा सम्पर्क गर्न सक्नेछन्।
त्यसैगरी, बैंकको वेबसाइटमार्फत ई–ट्यागसम्बन्धी थप जानकारी लिनुका साथै अनलाइन दर्ता प्रक्रिया पनि पूरा गर्न सकिने बैंकले जनाएको छ।
डिजिटल भुक्तानी तथा आधुनिक बैंकिङ सेवाको विस्तारलाई प्राथमिकता दिँदै आएको बैंकले सवारीधनीलाई सहज र समय बचत हुने यात्राका लागि ई–ट्याग जडान गर्न आग्रह गरेको छ।
प्रतिक्रिया