मोदी समक्ष प्रधानमन्त्री शाहले राख्ने दुई प्रस्ताव : हवाई मार्ग र उर्जा सहकार्य

२०८३ मंसिर ०६ गते

मोदी समक्ष प्रधानमन्त्री शाहले राख्ने दुई प्रस्ताव : हवाई मार्ग र उर्जा सहकार्य

प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने उच्चस्तरीय वार्तामा ऊर्जा, व्यापार, पारवहन, लगानी र पूर्वाधार विकासलगायतका विषय प्रमुख प्राथमिकतामा रहने भएका छन्।

नेपाल एयरलाइन्सको नियमित उडानबाट आइतबार दिउँसो ३ः१५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका प्रधानमन्त्री शाहलाई भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए। उनको स्वागतमा विमानस्थलमा विभिन्न सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो।

Advertisement:

Ad

भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत पुगेका शाहले भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यस्तै, सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ।

दुई देशबीच आर्थिक तथा विकास साझेदारीलाई थप विस्तार गर्ने उद्देश्यसहित हुन लागेको भ्रमणमा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधार विकासका विषयमा छलफल हुनेछ। विशेषगरी ऊर्जा सहकार्य तथा दुई देशबीचको कनेक्टिभिटी विस्तारलाई भ्रमणको महत्त्वपूर्ण उपलब्धिका रूपमा अघि बढाउने तयारी छ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ। यसका साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संशाधन विकासलगायतका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र आदानप्रदान गरिनेछ।

भ्रमणको पहिलो दिन आइतबार साँझ भारतीय विदेशमन्त्री डा। एस जयशङ्करले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सोमबार उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकारसहित उच्च सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मी सहभागी छन्।

दुई दिने भारत भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ।