२०८३ मंसिर ०६ गते
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक सार्वजनिक सूचना जारी गर्दै बाढीमा बेपत्ता भएका व्यक्तिहरू जीवित रहेको वा फेला परेको अवस्थामा सम्बन्धित व्यक्ति वा निजको एकाघरका परिवारलाई सात दिनभित्र दाबी पेस गर्न आग्रह गरेको हो।
प्राधिकरणका अनुसार बेपत्ता स्वदेशी नागरिकको विवरण सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेको स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा प्राप्त भएको हो।
त्यस्तै, बाढीमा बेपत्ता भएका विदेशी नागरिकको विवरण सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट कन्सुलर सेवा विभागमार्फत प्राधिकरणमा प्राप्त भएको सूचनामा उल्लेख छ।
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ को दफा २ को उपदफा (३०) बमोजिम प्राधिकरणले उक्त सूचना प्रकाशित गरेको जनाएको छ।
प्राधिकरणले सार्वजनिक गरिएको विवरणमा कुनै थपघट वा संशोधन गर्नुपर्ने भएमा तोकिएको समयभित्र दाबी पेस गर्न सम्बन्धित व्यक्ति तथा परिवारलाई अनुरोध गरेको छ।
यसैगरी, विवरण पठाउन बाँकी रहेका स्थानीय तह तथा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिलाई आवश्यक विवरण यथाशीघ्र पठाउन पनि प्राधिकरणले आग्रह गरेको छ।
प्रतिक्रिया