बैंकहरूको रिटेन्ड अर्निङमा  ठूलो असमानता, ६ बैंकको ऋणात्मक

२०८३ मंसिर १० गते

बैंकहरूको रिटेन्ड अर्निङमा  ठूलो असमानता, ६ बैंकको ऋणात्मक

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा चुक्तापुँजी र पुँजीकोषको आकार बढ्दै गए पनि वाणिज्य बैंकहरूको सञ्चित मुनाफा (रिटेन्ड अर्निङ) मा भने ठूलो असमानता देखिएको छ । केही बैंकले अर्बौ रुपैयाँ सञ्चित मुनाफा कायम गर्दा केही बैंकको सञ्चित आम्दानी ऋणात्मक अवस्थामा पुगेको छ ।

 

Advertisement:

Ad

नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास अर्थात् साउनदेखि असोज मसान्तसम्मको तथ्यांकअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाको रिटेन्ड अर्निङ ऋणात्मक छ । बाँकी १४ बैंकको सञ्चित मुनाफा सकारात्मक देखिएको छ ।

 


तथ्यांक अनुसार सबैभन्दा बढी सञ्चित मुनाफा नेपाल बैंकको रहेको छ । नेपाल बैंकले २ अर्ब ७५ करोड २९ लाख रुपैयाँ रिटेन्ड अर्निङ कायम गरेको छ । त्यस्तै, एभरेष्ट बैंकको २ अर्ब ६१ करोड ८१ लाख र नबिल बैंकको २ अर्ब २६ करोड ४६ लाख रुपैयाँ सञ्चित मुनाफा रहेको छ ।

 

सञ्चित मुनाफाका आधारमा प्राइम कमर्सियल बैंक १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँसहित चौथो र स्ट्यान्डर्ड चार्टर्ड बैंक १ अर्ब ९१ करोड १६ लाख रुपैयाँसहित पाँचौँ स्थानमा छन् । त्यसैगरी एनएमबी बैंकको १ अर्ब ७७ करोड ६ लाख, सानिमा बैंकको १ अर्ब ५० करोड ६९ लाख र नेपाल एसबीआई बैंकको १२४ करोड ९२ लाख रुपैयाँ सञ्चित मुनाफा रहेको छ ।

 

लक्ष्मी सनराइज बैंकको ७७ करोड ३७ लाख, कृषि विकास बैंकको ६७ करोड ८८ लाख, ग्लोबल आइएमई बैंकको ४९ करोड ७० लाख, सिद्धार्थ बैंकको १८ करोड ६२ लाख र कुमारी बैंकको १४ करोड ७२ लाख रुपैयाँ सञ्चित मुनाफा रहेको छ । माछापुच्छ्रे बैंकको भने २९ लाख रुपैयाँ मात्रै सञ्चित मुनाफा देखिएको छ ।

 


एनआईसी एसियाको सबैभन्दा ठूलो सञ्चित नोक्सानी


सकारात्मक सञ्चित मुनाफा भएका बैंकको तुलनामा ऋणात्मक रिटेन्ड अर्निङ भएका बैंकको अवस्था अझै चुनौतीपूर्ण देखिन्छ । सबैभन्दा ठूलो सञ्चित नोक्सानी एनआईसी एसिया बैंकको रहेको छ । बैंकको रिटेन्ड अर्निङे सञ्चित नोक्सानी १३ अर्ब ७ करोड ६८ लाख रुपैयाँ ऋणत्मक छ । 


त्यस्तै, हिमालयन बैंकको ९ अर्ब ८२ करोड ३९ लाख रुपैयाँ र प्रभु बैंकको ६ अर्ब ३२ करोड ८६ लाख रुपैयाँ सञ्चित नोक्सानी छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ६ अर्ब ३४ करोड ३०लाख, सिटिजन्स बैंकको ५५ करोड ६३ लाख र राष्ट्रिय वाणिज्य बैंकको २७ करोड ७२ लाख रुपैयाँ रिटेन्ड अर्निङ ऋणात्मक रहेको छ ।


बैंकहरूको चुक्तापुँजी र पुँजीकोषको आकार ठूलो हुँदैमा सञ्चित मुनाफाको अवस्था पनि बलियो हुन्छ भन्ने नहुने तथ्यांकले देखाउँछ ।  । कतिपय बैंकको सञ्चित नोक्सानी ठूलो हुनु र अर्कोतर्फ केही बैंकले उल्लेख्य सञ्चित मुनाफा कायम गर्न सक्नुले बैंकिङ क्षेत्रभित्र ठुलो वित्तिय असमानता रहेको देखाउँछ ।  मर्जरपछिको समायोजन र खराब कर्जाको दबाबले केही बैंकको रिटेन्ड अर्निङ ऋणात्मक बनेको हो ।


४ खर्बभन्दा बढी चुक्तापुँजी, पुँजीकोष झन्डै ८ खर्ब

नेपालका २० वाणिज्य बैंकको कुल चुक्तापुँजी ४ खर्ब १७ अर्ब २२ करोड ३० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकहरूको कुल पुँजीकोष ७ खर्ब ९६ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ रहेको छ ।  यद्यपि, सञ्चित मुनाफा सकारात्मक हुँदैमा सबै रकम लाभांशका रूपमा वितरण गर्न मिल्छ भन्ने पनि होइन । लाभांश वितरणका लागि नियामकीय व्यवस्था, पूँजी पर्याप्तता, नाफा, जोखिम व्यवस्थापन र अन्य वित्तीय सूचकसमेत महत्वपूर्ण हुन्छन् ।