कामना सेवाद्वारा दमकमा विद्यार्थीहरूलाई वित्तीय साक्षरता तथा भविष्य निर्माणसम्बन्धी मार्गदर्शन

२०८३ असोज १३ गते

कामना सेवाद्वारा दमकमा विद्यार्थीहरूलाई वित्तीय साक्षरता तथा भविष्य निर्माणसम्बन्धी मार्गदर्शन

काठमाडौं । कामना सेवा विकास बैंकले झापाको दमकस्थित सर्वोदय इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलका विद्यार्थीहरूलाई लक्षित गर्दै वित्तीय साक्षरता, जीवन उपयोगी सीप तथा भविष्य निर्माणसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको सर्वोदय बाल क्लबद्वारा आयोजित ‘सर्वोदय चौतारी’ अन्तर्गत ‘प्रेरक व्यक्तित्वसँग बालबालिका’ शीर्षकमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

 

Advertisement:

Ad

कार्यक्रममा विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत करिब १५० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । विद्यार्थीहरूलाई किताबी ज्ञानका अतिरिक्त व्यावहारिक जीवनका लागि आवश्यक ज्ञान र मार्गदर्शन प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।


कार्यक्रमका प्रमुख अतिथि एवं कामना सेवा विकास बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले विद्यार्थीहरूसँग जीवन उपयोगी सीप, आत्मअनुशासन, निर्णय क्षमता, समय व्यवस्थापन तथा चुनौतीहरूको सामना गर्ने उपायहरूबारे आफ्नो प्रस्तुति राखेका थिए । उनले किताबी ज्ञानसँगै व्यावहारिक जीवनमा आवश्यक सीप विकास गर्नु नै भविष्य निर्माणको महत्त्वपूर्ण आधार भएको बताए ।


त्यसैगरी, बैंकका ब्रान्डिङ, सीएसआर तथा मार्केटिङ प्रमुख सुशील पौडेलले विद्यार्थीहरूलाई लक्ष्य निर्धारण, भविष्यको मार्गचित्र तथा उचित मार्गदर्शनको महत्त्वबारे स्पष्ट पारेका थिए । विद्यार्थीहरूले आफ्नो रुचि, क्षमता र प्राथमिकता पहिचान गरी स्पष्ट लक्ष्य तय गर्नुपर्नेमा उनले जोड दिए । साथै, तय गरिएको लक्ष्यलाई चरणबद्ध योजनामा रूपान्तरण गर्दै निरन्तर सिकाइ र आत्ममूल्याङ्कनका आधारमा अघि बढ्न उनले विद्यार्थीहरूलाई प्रेरित गरे ।

 

अन्तरक्रियात्मक कार्यक्रममा विद्यार्थीहरूलाई वित्तीय साक्षरता, बचत, लगानीको आधारभूत ज्ञान, आवश्यकता र चाहनाबीचको भिन्नता तथा पैसाको योजनाबद्ध प्रयोगबारे व्यावहारिक उदाहरणसहित जानकारी गराइएको थियो । विद्यार्थी अवस्थादेखि नै आर्थिक निर्णयप्रति सचेत बन्ने बानीले भविष्यमा जिम्मेवार आर्थिक व्यवहार विकास गर्न मद्दत पुग्ने विषयमा छलफल भएको थियो ।


यसैगरी, व्यक्तिगत तथा व्यावसायिक विकासमा मार्गदर्शक ९मेन्टर० को भूमिका, अनुभवी र विश्वासिलो व्यक्तिबाट समयमै सही परामर्श लिने, प्रश्न सोध्ने, सुझाव ग्रहण गर्ने र सिकाइलाई व्यवहारमा उतार्ने अभ्यासले सही निर्णय लिन सघाउ पुर्‍याउने विषयमा पनि विद्यार्थीहरूलाई जानकारी दिइएको थियो ।

 

कार्यक्रमको खुला सत्रमा विद्यार्थीहरूले आफ्ना जिज्ञासा, भविष्यका योजना तथा करियरसँग सम्बन्धित सोचबारे बैंकका अधिकारीहरूसँग प्रत्यक्ष छलफल गरेका थिए ।

 

पाठ्यपुस्तकको ज्ञानसँगै वित्तीय सचेतना, व्यावहारिक सीप र भविष्यप्रति स्पष्ट दृष्टिकोण विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बैंकको विश्वास छ । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थी, युवा तथा समुदायमा वित्तीय चेतना र जीवन उपयोगी सीप प्रवर्द्धन गर्ने यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको जनाएको छ ।