साइबर ठगीमा परे तत्काल १२४७ मा फोन गर्नुस्

२०८३ मंसिर ०४ गते

साइबर ठगीमा परे तत्काल १२४७ मा फोन गर्नुस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले साइबर तथा डिजिटल वित्तीय ठगीमा परेका व्यक्तिलाई तत्काल प्रहरीको हटलाइन नम्बर १२४७ मा सम्पर्क गरी उजुरी गर्न आग्रह गरेको छ ।

 

Advertisement:

Ad

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै साइबर तथा डिजिटल वित्तीय ठगीसम्बन्धी गुनासो र उजुरी सम्बोधनका लागि २४ सै घण्टा सञ्चालन हुने एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरिएको जानकारी दिएको हो ।

 

प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोमा विभिन्न सरोकारवाला निकायहरूको सहभागितामा उक्त केन्द्र स्थापना गरिएको राष्ट्र बैंकले जनाएको छ । केन्द्रको हटलाइन नम्बर १२४७ मा सम्पर्क गरी साइबर स्क्यामसम्बन्धी घटनाको उजुरी गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार अनलाइन ठगी, फिसिङ, नक्कली लिंक, अनधिकृत कारोबार तथा डिजिटल भुक्तानीसम्बन्धी ठगीमा परेमा पीडितले तत्काल १२४७ मा सम्पर्क गरी घटनाबारे जानकारी वा उजुरी गर्नुपर्नेछ । त्यसपछि हटलाइनबाट प्राप्त जानकारीका आधारमा आवश्यक प्रक्रिया अघि बढाइनेछ ।


त्यस्तै, ठगी भएको अवस्थामा सम्बन्धित व्यक्तिले आफ्नो बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ । यसबाट बैंक खाता तथा डिजिटल वालेट सुरक्षित गर्न आवश्यक पहल गर्न सकिनेछ । डिजिटल वित्तीय कारोबारको विस्तारसँगै अनलाइन ठगीका घटना बढिरहेका बेला पीडितलाई तत्काल उजुरी गर्ने र सम्भावित थप वित्तीय क्षति रोक्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।