विद्यार्थी पेशा देखाएर साइबर ठगी गर्नेहरु बढे, १९ देखि २४ वर्ष उमेर समुहका सबैभन्दा बढी

२०८१ मंसिर ०२ गते

विद्यार्थी  पेशा देखाएर साइबर ठगी गर्नेहरु बढे, १९ देखि २४ वर्ष उमेर समुहका सबैभन्दा बढी

काठमाडौ । शंकास्पद कारोबारमा सबैभन्दा बढी १९ वर्ष देखि २४ वर्ष उमेर समुहका व्यक्ति सक्रिय हुने गरेको एउटा अध्ययनले देखाएको छ । शङ्कास्पद कारोबारमा १९–२४ वर्ष उमेर समूहका व्यक्ति र पेसामा ‘विद्यार्थी’ उल्लेख गरेका व्यक्तिहरू सबैभन्दा बढी संलग्न रहेको देखिएको हो । अधिकांश शङ्ककास्पद खातामा त्यस्तो खाता सञ्चालन भएको तीन महिनाभित्र शङ्कास्पद कारोबार भएको पाइएको छ ।

साइबर प्रविधिमा आधारित ठगीका लागि मुख्य रूपमा गिफ्ट, पार्सल फ्रड, फेक अनलाइन विजनेस, ओटीपि, चिठ्ठा जस्ता माध्यमलाई बढी प्रयोग गरेको पाइएको छ । नेपाल वितिय जानकारी इकाइले तयार पारेको स्ट्राटेजिक एनलाइसिस रिपोर्ट २०२४ मा साइबर प्रविधिमा आधारित ठगीमा संलग्न २ मध्ये १ जना १९ देखि २४ वर्ष उमेर समूहको युवा र ३ मध्ये १ जना विद्यार्थी हुने गरेको देखाएको हो ।

Advertisement:

Ad

शंकास्पद कारोबारमध्ये ६४ प्रतिशत साइबरमा आधारित ठगी हुने गर्छ । सन् २०२४ को मे मसान्तसम्म कुल ५०१ वटा शंकास्पद कारोबार भएकामा ३१९ वटा (६३ प्रतिशत) साइबरमा आधारित ठगीसँग सम्बन्धित थिए । ३१९ मध्ये १५१ वटा नमुना लिँदा युवा र विद्यार्थी नै अग्रपंक्तिमा रहेको तथ्य फेला परेको हो ।

ठगीमा सामाजिक सञ्जाल र भुक्तानी प्रणालीमा रहेका विशेषताको दुरुपयोगको विषयमा समेत विश्लेषण गरिएको छ । प्रतिवेदनमा सन् २०२४ को पहिलो पाँच महिनामा प्राप्त भएका साइबर इनइवल फ्रड सम्बन्धी शङ्कास्पद कारोबार विवरणको विस्तृत रूपमा विश्लेषण गरिएको छ । प्रतिवेदनको निष्कर्षका आधारमा साइबर प्रविधिमा आधारित ठगी न्यूनीकरण गर्न सूचक संस्था, कानुन कार्यान्वयन गर्ने निकाय, अनुसन्धानकारी निकाय र नियामक तथा सुपरिवेक्षकीय निकायलाई आवश्यक सुझावहरू सिफारिस गरिएको छ । प्रतिवेदनमा साइबर प्रविधिमा आधारित ठगीका विशेषता र साइबर ठगीका माध्यमबाट प्राप्त हुने सम्पत्ति शुद्धीकरणमा प्रयोग गर्ने पद्दतिका विशेषता विश्लेषण गरेको छ ।