वैदेशिक रोजगारीमा गएकाले ४ कार्यदिनमा आइपिओमा आवेदन दिनुपर्ने, बैंकले अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्न पाउने

२०८२ असार २३ गते

वैदेशिक रोजगारीमा गएकाले ४ कार्यदिनमा आइपिओमा आवेदन दिनुपर्ने, बैंकले अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्न पाउने

काठमाडौ । कुनै पनि कम्पनीले आइपिओ जारी गर्दा वैदेशिक रोजगारमा गएकालाई पनि आइपिओ जारी गर्नुपर्ने व्यवस्था छ । त्यस्तो आइपिओ जारी गर्दा आवेदन दिने समयलाई १५ दिनबाट घटाएर ४ दिनमा झारिएको छ ।

नेपाल धितोपत्र बोर्डले साउन १ गतेदेखि लागुहुने गरी धितोपत्र निष्काशन तथा बाँडफाँड (नवौं संशोधन) निर्देशिका, २०८२ लागू गरेको छ । सो निर्देशिकाले वैदेशिक रोजगारमा गएकाहरुले आवेदन दिने समय घटाइएको हो । शेयर निष्काशन गर्दा निष्काशन तथा बिक्री प्रबन्धकले सर्वसाधारणको लागि निष्काशन गर्नु अगावै आव्हानपत्र प्रकाशन गरी कम्तीमा चार कार्य  दिन दरखास्त खुला रहने व्यवस्था गर्नुपर्नेछ । तर उक्त अवधिभित्र निष्काशन गरिएको सबै धितोपत्र बिक्री नभएमा त्यस्तो दरखास्त खुल्ला भएको मितिले बढीमा पन्ध्र दिनका लागि धितोपत्रको दरखास्त खुल्ला राख्न सक्नेछ र सोको जानकारी बोर्डलाई दिनु पर्नेछ ।

Advertisement:

Ad
Ad

यस्तै बैंक तथा वित्तीय संस्थाहरुलाई अविमोच्य असंचिति अग्राधिकार शेयर निष्काशन गर्न सक्ने व्यवस्था पनि निर्देशिकाले गरेको छ । शेयर निष्काशन गर्ने बैंक तथा वित्तीय संस्थाले परिपत्र विधिमार्फत् ५० जना भन्दा कम हुने गरी संस्थागत लगानीकर्तालाई मात्र निष्काशन गर्न सक्नेछ ।निष्काशन हुने शेयरमा सर्वसाधारण लगानीकर्ता, बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषले लगानी गर्न पाउने छैन ।

सम्भावित संस्थागत लगानीकर्तालाई धितोपत्रसम्बन्धी विशेषता सहित जोखिम उद्घोषण विवरण उपलब्ध गराउनुपर्नेछ । साथै, लगानीकर्ताबाट उक्त विवरण पढेको बुझेको भन्ने व्यहोरा खुलाई लिखित रूपमा कागजात समेत निवेदनसाथ संलग्न गर्ने व्यवस्था गर्नुपर्नेछ ।