२०८३ कात्तिक १७ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल, माला तथा सजावटका सामग्री बिक्री वितरणका लागि महानगरभित्रका विभिन्न ३३ स्थान तोकेको छ । महानगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला बिक्रीमा रोक लगाउँदै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।
महानगर प्रहरी बलले सूचना जारी गर्दै नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाको बिक्री वितरणका लागि निश्चित स्थान तोकेको हो । महानगरले प्लास्टिकजन्य फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री वितरण नगर्न पनि आग्रह गरेको छ ।
महानगरका अनुसार प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिनेछ ।महानगरले नयाँ बानेश्वर, शंखमूल, चाबहिल, बत्तीसपुतली, तीनकुने, सिफल, स्वयम्भू, कालीमाटी, कलङ्की, माछापोखरी, महाराजगन्ज, गोङ्गबु, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, सुन्धारा र न्युरोनलगायतका क्षेत्रमा बिक्री स्थल तोकेको छ ।
त्यस्तै, हाँडीगाउँ, सामाखुसी, टेबहाल मन्दिर परिसर, लगन, जैसीदेवल र भृकुटीमण्डपलगायतका स्थानमा पनि फूल तथा माला बिक्री गर्न सकिने महानगरले जनाएको छ ।
महानगरपालिकाले स्वदेशी फूल तथा मालाको बिक्री वितरणलाई व्यवस्थित बनाउन सम्बन्धित व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई तोकिएका स्थानको प्रयोग गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया