२०८३ कात्तिक १७ गते
काठमाडौं । समाचार कक्षमै प्रवेश गरेर पत्रकारसँग सोधपुछ गरेको घटनालाई सरकारले प्रहरीको आन्तरिक सूचना चुहावटसम्बन्धी अनुसन्धानका रूपमा व्याख्या गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले प्रहरी आफ्नो आन्तरिक सूचना बाहिरिएको विषयमा जानकारी लिन समाचार कक्षसम्म पुगेको दाबी गरेका छन्।
मन्त्रिपरिषद् बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रहरीको आन्तरिक सूचनाका आधारमा सार्वजनिक भएका समाचारको स्रोत र तथ्यबारे बुझ्ने क्रममा उक्त घटना भएको बताए।
प्रधानमन्त्रीले प्रहरी महानिरीक्षक ९आईजीपी० को राजीनामा मागेको वा कारबाही गर्न लागेको भन्ने विषयमा प्रकाशित समाचारलाई उदाहरण दिँदै उनले त्यस्तो कुनै निर्णय नभएको अवस्थामा भ्रामक सूचना कसरी बाहिरियो भन्नेबारे प्रहरीले अनुसन्धान गर्न खोजेको जिकिर गरे।
‘प्रहरीको आन्तरिक सूचना चुहावट भएको भन्ने विषयमा, उदाहरणका लागि प्रधानमन्त्रीले आईजीपीको राजीनामा माग्यो वा कारबाही गर्न लाग्यो भन्ने हुँदै नभएको भ्रामक सूचना कहाँबाट आयो भन्ने तथ्यजाँच नगरी कसरी बाहिरियो भनेर प्रहरीले बुझ्न खोजेको हो,’ उनले भने।
उनले समाचार कक्षमा प्रहरी प्रवेश गर्ने विषयमा सरकारको पूर्वस्वीकृति नरहेको पनि स्पष्ट पारे। उक्त गतिविधिबारे सरकार वा प्रधानमन्त्रीलाई पूर्वजानकारी नभएको उनको भनाइ थियो।
‘सरकारसँग पूर्ण अनुमति लिएर वा के गरेर गरेको होइन। त्यसमा सरकार वा प्रधानमन्त्रीज्यूलाई केही थाहा थिएन। प्रहरीले आफ्नो आन्तरिक सूचना चुहावट भएको भएर सोधपुछका लागि गरेको हो,’ पोखरेलले भने।
प्रवक्ता पोखरेलका अनुसार घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्रीले पत्रकारलाई सोधपुछका नाममा हिरासतमा नराख्न प्रहरीलाई निर्देशन दिएका थिए। उनले प्रहरीले कसैलाई पक्राउ वा नियन्त्रणमा नलिएको दाबीसमेत गरे।
सरकारले घटनालाई प्रहरीको आन्तरिक अनुसन्धानका रूपमा व्याख्या गरे पनि समाचार कक्षमै प्रहरी प्रवेश गरेर पत्रकारसँग सोधपुछ गर्ने कार्यले प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमको कार्यक्षेत्रको सुरक्षासम्बन्धी प्रश्न भने उठाएको छ।
प्रतिक्रिया