भारतीय नौसेनाद्वारा समुद्री डाकुको कब्जामा रहेको जहाज मुक्त, २० जनाको उद्धार

२०८३ कात्तिक १७ गते

भारतीय नौसेनाद्वारा समुद्री डाकुको कब्जामा रहेको जहाज मुक्त, २० जनाको उद्धार

काठमाडौं । भारतीय नौसेनाले सोमालियाको उत्तरपूर्वी तटनजिक सशस्त्र समुद्री डाकुहरूको कब्जामा रहेको माछा मार्ने जहाज ‘अजिनी’लाई मुक्त गराएको छ । ४८ घण्टाभन्दा बढी समय सञ्चालन गरिएको समन्वित कारबाहीमार्फत जहाजमा रहेका सबै २० जना चालक दलका सदस्यलाई सकुशल उद्धार गरिएको भारतीय नौसेनाले जनाएको छ ।

 

Advertisement:

Ad

नौसेनाका अनुसार घटनामा कसैको मृत्यु वा चोटपटक लागेको छैन । गत महिना सोमालियाको उत्तरपूर्वी तटनजिक सशस्त्र समुद्री डाकुहरूको समूहले उक्त जहाज कब्जामा लिएको थियो । समुद्री डाकुहरूले जहाजलाई अन्य व्यापारिक जहाजमाथि आक्रमण गर्न प्रयोग गर्न सक्ने जोखिम देखिएपछि भारतीय नौसेनाले कारबाही अघि बढाएको थियो । त्यसका लागि परिचालित युद्धपोतसँगै समुद्री निगरानी विमान परिचालन गरिएको थियो ।

 

निरन्तर निगरानीपछि नौसेनाले जहाजको अवस्थिति पत्ता लगाएर त्यसको गतिविधि नियन्त्रणमा लिएको थियो । जहाजलाई भाग्न नदिन गैरघातक उपाय अपनाइएको थियो । भारतीय वायुसेनाको सी–१७ विमानबाट सटीक हवाई अवतरणमार्फत नौसेनाका मरीन कमान्डोसमेत परिचालन गरिएको थियो ।

 

समन्वित सैन्य कारबाहीमार्फत जहाज नियन्त्रणमा लिएर समुद्री डाकुहरूको खतरा निष्प्रभावी बनाइएको र चालक दलका सबै सदस्यलाई सुरक्षित मुक्त गरिएको नौसेनाले जनाएको छ ।

 

भारतीय नौसेनाले यो सफल कारबाहीले जटिल समुद्री सुरक्षा चुनौती सामना गर्ने आफ्नो तयारी र विभिन्न सुरक्षा निकायबीचको प्रभावकारी समन्वयलाई पुष्टि गरेको बताएको छ । साथै, हिन्द महासागर क्षेत्रमा समुद्री सुरक्षाको पहिलो प्रतिक्रियादाता तथा भरपर्दो सुरक्षा साझेदारका रूपमा भारतको प्रतिबद्धता यसले पुनः देखाएको नौसेनाको भनाइ छ ।

 

नौसेनाले समुद्री यात्रुको सुरक्षा, अन्तर्राष्ट्रिय व्यापारका महत्त्वपूर्ण समुद्री मार्गको संरक्षण र हिन्द महासागर क्षेत्रमा सुरक्षित तथा स्थिर समुद्री वातावरण कायम राख्न प्रतिबद्ध रहेको जनाएको छ । एएनआई