लुम्बिनी विकास बैंक ३२ करोड नाफामा, ईपीएस ३६ रुपैयाँ ११ पैसा

२०८३ कात्तिक १५ गते

लुम्बिनी विकास बैंक ३२ करोड नाफामा, ईपीएस ३६ रुपैयाँ ११ पैसा

लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ३२ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकले ३२ करोड ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको हो।

 

Advertisement:

Ad

गत आर्थिक वर्षको सोही अवधिमा बैंक ३४ करोड ८५ लाख ७७ हजार रुपैयाँ खुद घाटामा रहेको थियो। यससँगै बैंकले समीक्षा अवधिमा घाटाबाट नाफामा फर्किन सफल भएको छ। बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ करोड ३८ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ४९ करोड ४४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी ४ करोड २१ लाख रुपैयाँबाट बढेर ८ करोड ६७ लाख रुपैयाँ पुगेको छ।

 

समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ६० करोड ३५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ५५ करोड ४ लाख रुपैयाँ रहेको थियो। असोज मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा २२ करोड ६३ लाख रुपैयाँ रहेको छ। बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३६ रुपैयाँ ११ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ६८ पैसा रहेको छ। त्यस्तै, बैंकको मूल्य आम्दानी अनुपात (पीई रेसियो) १३.४४ गुणा रहेको छ।

 

बैंकको चुक्ता पुँजी ३ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म बैंकले ५७ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकको कुल सम्पत्ति ६७ अर्ब ६६ करोड रुपैयाँ रहेको छ।

बैंकको निष्क्रिय कर्जा अनुपात (एनपीएल) ६.९९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.७८ प्रतिशत रहेको थियो। त्यस्तै, बैंकको आधार दर ५.३५ प्रतिशत र कर्जा तथा निक्षेप अनुपात ८७.७४ प्रतिशत रहेको छ।