ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुला गर्न विशेष सुरक्षा

२०८० चैत २९ गते

ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुला गर्न विशेष सुरक्षा

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताएका छन् ।

सामुदायिक सेवा केन्द्र टुँडालदेवी, प्रहरी वृत्त महाराजगन्ज तथा मालिगाउँले आज यहाँ आयोजना गरेको ‘लागूऔषध दुर्व्यसनी तथा साइबर अपराध न्यूनीकरणसम्बन्धी अन्तरक्रिया’मा उनले ठमेल र दरबारमार्गलाई चलायमान बनाउन विशेष सुरक्षा योजना बनाइएको बताएका हुन् ।

Advertisement:

Ad
Ad

“ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउनका लागि अपराध हुनसक्ने सम्भावित क्षेत्रको प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ, नेपाल प्रहरी र पर्यटक प्रहरीको जनशक्ति थप गरी उक्त बजारलाई चलायमान बनाउन नेपाल प्रहरी लाग्नेछ”, उनले भने ।

परिसर प्रमुख खत्रीले पछिल्लो समय राजधानी काठमाडौँसहित देशभर लागूऔषध दुर्व्यसनी र साइबर अपराधको घटना बढेको भन्दै यसलाई नियन्त्रणका लागि काठमाडौँ प्रहरीले काम गरिरहेको उल्लेख गरे ।

चालू आर्थिक वर्षमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने तीन हजार सात सय मुद्दा दर्ता काठमाडौँ प्रहरीमा दर्ता भएको उनको भनाइ छ । यस्तै, लागूऔषध दुर्व्यसनीसम्बन्धी देशभर चार हजारभन्दा बढी मुद्दा दर्ता भएको एसएसपी खत्रीले बताए ।

काठमाडौँ महानगरपालिका वडा नं ४ का वडाध्यक्ष दिनेश महर्जनले वि.सं. २०८१ सालमा वडाभित्रका बिग्रेका सबै सडकहरू कालोपत्र गरिसक्ने बताए । उनले लागूऔषध दुर्व्यसन र साइबर अपराधमा सजग रहन विद्यार्थीलाई आग्रह गरे।

सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले चण्डोल, धुम्बाराही, बालुवाटार, चुनदेवी, टुँडालदेवीलगायतको क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा सामुदायिक सेवा केन्द्रले काम गर्दै आएको बताए ।