२०८३ मंसिर ११ गते
काठमाडौं । बजार अनुगमनका क्रममा कारबाहीमा परी जरिवाना तोकिए पनि रकम दाखिला नगर्ने व्यावसायिक फर्म तथा कम्पनीमाथि सरकारले कडार्इ गर्ने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना तिर्न बाँकी रहेका व्यवसायीलाई एक महिनाभित्र रकम बुझाउन अल्टिमेटम दिँदै अटेर गरे पसल सिलबन्दीदेखि बैंक खाता र सम्पत्ति रोक्कासम्मको कारबाही गर्ने चेतावनी दिएको छ ।
विभागले मङ्सिर ११ गते सूचना जारी गर्दै पहिलो पटक सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र तोकिएको जरिवाना रकम सरकारी राजस्व खातामा दाखिला गर्न निर्देशन दिएको हो । जरिवाना बुझाएपछि त्यसको सक्कल बैंक भौचर (रसिद) सहित विभागमा अनिवार्य जानकारी गराउन पनि भनिएको छ ।विभागका अनुसार उपभोक्ताको हकहित तथा अधिकार संरक्षण र स्वच्छ एवं प्रतिस्पर्धी बजार कायम गर्ने उद्देश्यले विभाग तथा मातहतका कार्यालयले विभिन्न समयमा गरेको नियमित र आकस्मिक बजार अनुगमनका क्रममा कानुनविपरीत व्यवसाय सञ्चालन गरेको पाइएपछि सम्बन्धित फर्म, कम्पनी तथा प्रतिष्ठानलाई कारबाही गरिएको थियो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ र ३९ बमोजिम निरीक्षण अधिकृतले तत्काल जरिवाना तोके पनि कतिपय व्यवसायीले हालसम्म उक्त रकम सरकारी राजस्व खातामा दाखिला नगरेको विभागको अभिलेखमा देखिएको छ । जरिवाना असुलीलाई प्रभावकारी बनाउन विभागले उपभोक्ता संरक्षण ऐन, २०७५, उपभोक्ता संरक्षण नियमावली, २०७६ लगायत प्रचलित विभिन्न कानुनको आधारमा बाँकी रकम असुल गर्ने प्रक्रिया अघि बढाउन लागेको हो । यसमा प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४, साझेदारी ऐन, २०२०, कम्पनी ऐन, २०६३, कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ र गुणस्तर ९प्रमाण–चिन्ह० ऐन, २०३७ लगायतका कानुनी व्यवस्था आकर्षित हुने विभागले जनाएको छ ।
पसल सिलदेखि बैंक खाता रोक्कासम्म
विभागले दिएको एक महिनाको समयसीमाभित्र जरिवाना नबुझाए सम्बन्धित व्यवसायीमाथि थप कडा कानुनी कारबाही अघि बढाइने चेतावनी दिएको छ । जरिवाना नतिर्ने फर्म, पसल वा प्रतिष्ठानमा सिलबन्दी गरी व्यावसायिक कारोबार तत्काल रोक्का गर्न सकिने विभागको भनाइ छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९(५) तथा दफा ४० बमोजिम यस्तो कारबाही अघि बढाइनेछ ।
त्यस्तै , सम्बन्धित फर्म वा कम्पनीको दर्ता खारेजीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने तथा अन्य सरकारी निकायबाट प्राप्त इजाजतपत्र र अनुमतिपत्र निलम्बन वा खारेज गर्न लेखी पठाउने विभागले जनाएको छ ।
यसका अतिरिक्त जरिवाना रकमलाई सरकारी बाँकीसरह असुलउपर गर्ने प्रक्रिया अघि बढाइनेछ । त्यसका लागि सम्बन्धित मालपोत कार्यालय, बैंक तथा वित्तीय संस्थामार्फत व्यवसायीको चल–अचल सम्पत्ति र बैंक खाता रोक्का राख्ने प्रक्रिया अघि बढाइने विभागको चेतावनी छ ।
यसरी बुझाउन सकिन्छ जरिवाना
विभागले जरिवाना रकम हिमालयन बैंक लिमिटेडको नयाँबानेश्वर शाखामा रहेको सरकारी राजस्व खातामा दाखिला गर्न भनेको छ । रकम जम्मा गर्दा राजस्व शीर्षक नम्बर १४३१२ र कार्यालय कोड ३०७०५३५०१ उल्लेख गर्नुपर्नेछ ।
विभागले बजार अनुगमनका क्रममा कानुनविपरीत कार्य गरेको ठहर भई जरिवाना तोकिएका तर हालसम्म रकम नबुझाएका सबै व्यावसायिक फर्म, कम्पनी तथा प्रतिष्ठानलाई तोकिएको समयभित्र जरिवाना दाखिला गरी कानुनी दायित्व पूरा गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया