सिरियामा अल असदको शासनको अन्त्य, विद्रोहीको कब्जामा राजधानी दमास्कस

२०८१ मंसिर २३ गते

सिरियामा अल असदको शासनको अन्त्य, विद्रोहीको कब्जामा राजधानी दमास्कस

दमास्कस। कुर्दिस नेतृत्वको विद्रोहीले आइतबार दमास्कसमाथि धावा बोलेको र राष्ट्रपति बशर अल असद भागेको दाबी गरेको छ । उनीहरूले सिरियामा पाँच दशक लामो बाथ शासनको अन्त्य भएको घोषणा गरेका छन् ।

सिरियाको राजधानी दमास्कसमा विद्रोही समूहले राष्ट्रपति असदको बहिर्गमनको घोषणा गर्दै ‘हामी दमास्कस शहरलाई स्वतन्त्र घोषणा गरेका छौँ’ भन्दै सडकमा विजय उत्सव मनाएका देखिन्थे।

Advertisement:

Ad
Ad

दमास्कसबाट एएफपी टिभीले खिचेको तस्बिरमा विद्रोहीहरूले सूर्योदयको समयमा हवाई फाएर गरेका, केहीले विजयको चिन्ह चम्काइरहेको र ‘अल्लाहु अकबर’ वा ईश्वर महान् छन् भनी चिच्याइरहेको देख्न सकिन्छ ।

तस्वीरमा कोही उत्सव मनाउन सेनाका बख्तरबन्द गाडीमाथि चढेका कोही असदका पिता हाफेजको ढलेको शालिकमा सुतेर तस्वीर लिइरहेको देखिएको छ ।

इस्लामिक हयात तहरीर अल–शाम (एचटीएस) समूहले असद परिवारको पाँच दशकभन्दा लामो शासनलाई चुनौती दिँदै आफ्नो अभियान सुरु गरेको दुई हप्ता नबित्दै राष्ट्रपतिको कथित बहिर्गमन भएको बताइएको छ ।

“बाथ शासनमा ५० वर्षको उत्पीडन, १३ वर्षको अपराध र अत्याचार र (जबर्जस्ती) विस्थापनपछि हामी आज यो कालो समयको अन्त्य र सिरियाका लागि नयाँ युगको सुरुवातको घोषणा गर्दछौँ,’ विद्रोही समूहले टेलिग्राममा भनेका छन् ।

सिरियाली प्रधानमन्त्री मोहम्मद अल जलालीले सिरियाली जनताले रोजेको कुनै पनि नेतृत्वसँग सहकार्य गर्न आफू तयार रहेको बताएका छन् ।

बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) का प्रमुख रामी अब्देल रहमानले एएफपीसँग भने, राष्ट्रपति असदले दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिरिया छोडिसक्नुभएको छ ।”

हिजबुल्लाहको नजिकको स्रोतले राष्ट्रपति असदको प्रमुख सहयोगीका लडाकुहरूले दमास्कस वरिपरि आफ्नो स्थान छोडेको बताएको छ ।

एचटीएसका अनुसार उनीहरूका लडाकुहरू राजधानीको बाहिरी भागमा रहेको ‘सेदनायाको जेलमा निरंकुशताको युगको अन्त्य’ को घोषणा गरेका थिए । उक्त जेल राष्ट्रपति असदको युगको सबैभन्दा चरम यातना दिने जेलको रूपमा विद्रोहीहरूले हेर्ने गरेका थिए ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले सिरियामा भइरहेको ‘असाधारण घटना’लाई नजिकबाट नियालिरहेको ह्वाइट हाउसले जनाएको छ ।