कांग्रेस उपसभापति र महामन्त्रीमा हालसम्म कोको भए विजयी ?

२०८३ असोज २६ गते

कांग्रेस उपसभापति र महामन्त्रीमा हालसम्म कोको भए विजयी ?

ललितपुर। नेपाली कांग्रेसको खुलातर्फको उपसभापतिमा डा चन्द्रकान्त भण्डारी र मधु आचार्य विजयी भएका छन् । यस्तै, समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भएका छन् । 

उपसभापतिको खुला प्रतिस्पर्धामा डा भण्डारीले तीन हजार ७३५ मत र आचार्यले दुई हजार ३४२ मत प्राप्त गरेका छन् । उपसभापतिका उम्मेदवारमध्ये गोविन्द भट्टराईले एक हजार ७५२, सुरेन्द्रराज पाण्डेले एक हजार ६७३, धनराज गुरुङले एक हजार ५९६, दीपक गिरीले ९२३ र प्रा डा चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन् ।

Advertisement:

Ad

समावेशी उपसभापतिमा विजयी चौधरीले एक हजार ७४५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी जीवन परियारले एक हजार ६५८, फरमुल्लाह मन्सुरले एक हजार १४४, सीता गुरुङले एक हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन् ।

त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल र उदयशम्शेर राणा विजयी भएका छन् । पौडेलले चार हजार १९४ मत प्राप्त गरेका छन् । । यस्तै, राणाले दुई हजार ३३० मत पाए। महामन्त्रीका उम्मेदवारमध्ये डा सुनिलकुमार शर्माले दुई हजार २५७, गुरुराज घिमिरेले एक हजार ५१३, नैनसिंह महरले एक हजार १३४, अमरसिंह पुन मगरले एक हजार १२५, शङ्कर तिवारीले १२३ र डा सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरे।

महामन्त्री महिलातर्फ डा डिला सङ्ग्रौला विजयी भएकी छिन् । उनले तीन हजार ११८ मत प्राप्त गरेकी छिन् भने महालक्ष्मी उपाध्याय (डिना)ले दुई हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए ।