बाढी प्रभावित क्षेत्रका लागि ५ खर्ब ५९ अर्बको बजेट सिफारिस

२०८३ असोज १९ गते

बाढी प्रभावित क्षेत्रका लागि ५ खर्ब ५९ अर्बको बजेट सिफारिस

काठमाडौँ । सरकारले भोटेकोशी–त्रिशूली बाढीपछि भइरहेको खोज तथा उद्धार कार्यलाई अत्यावश्यकबाहेक हालका लागि स्थगित गर्ने निर्णय गरेको छ । अब प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाइने भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले अत्यावश्यक खोज तथा उद्धारसँगै पुनर्निर्माण र पुनर्स्थापनाका काम तीव्र पार्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

Advertisement:

Ad

 

जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति तथा स्थलगत अवलोकनबाट प्राप्त सिफारिसका आधारमा खोज तथा उद्धारको चरण परिवर्तन गर्ने निर्णय गरिएको हो ।

बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय तथा निकायबाट प्रस्तावित ५०४ वटा योजना तथा कार्यक्रमका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।

 

लागत अनुमान र प्राथमिकीकरण हुन बाँकी आयोजनाको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि पुनः सिफारिस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको छ ।

बैठकमा प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहबीच भइरहेको समन्वयलाई निरन्तरता दिँदै पुनर्निर्माण र पुनर्स्थापनाका काम पनि सहकार्यबाट अघि बढाइने बताए । विपक्षी दल, नेपाली कांग्रेसका संसदीय दलका नेता तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका मुख्यमन्त्रीहरूले समेत पुनर्निर्माण अभियानमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।