२०८२ फागुन २७ गते
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण आप्रवाह ३९.८ प्रतिशतले बढेर १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले बढेको थियो ।
माघ महिनामा मात्र बिप्रेषण आप्रवाह १ खर्ब ९८ अर्ब ८ करोड रहेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको छ । अघिल्लोवर्ष यस्तो आप्रवाह ५.५ प्रतिशतले बढेको थियो । खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब ८४ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ खर्ब ८६ अर्ब ३४ करोड रहेको थियो ।
यसैगरी वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ४५ हजार १५३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख २७ हजार ४२४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २ लाख ७४ हजार ६२२ र १ लाख ९० हजार ८८६ रहेको थियो ।
यो सँगै विदेशी मुद्रा सञ्चिति पनि २३.३ प्रतिशतले बढेर माघ मसान्तमा ३३ खर्ब ०२ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।अमेरिकी डलरमा यस्तो सञ्चिति २२ अर्ब ७६ करोड पुगेको छ । आर्थिक वर्ष २०८२/८३ को सात महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.३ महिनाको वस्तु आयात र १८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०८२ माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५४.१ प्रतिशत, १५०.२ प्रतिशत र ३९.७ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।
प्रतिक्रिया