सहकारीका समस्याग्रस्त ऋणीलाई राहत, १ वर्षसम्म कर्जा पुनर्तालिकीकरण गर्न पाइने

२०८३ भदौ २६ गते

सहकारीका समस्याग्रस्त ऋणीलाई राहत, १ वर्षसम्म कर्जा पुनर्तालिकीकरण गर्न पाइने

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संघ–संस्थाका समस्यामा परेका ऋणीलाई पुनर्तालिकीकरणको सुविधा दिन सकिने व्यवस्था गरेको छ।

 

Advertisement:

Ad
Ad

प्राधिकरणले सहकारी ऐन, २०७४ को दफा १०३ बमोजिम निर्देशन जारी गर्दै परिस्थितिजन्य कारणले समस्यामा परी नियमित कर्जा भुक्तानी गर्न नसकेका ऋणीलाई निश्चित मापदण्ड पूरा भएमा बढीमा एक वर्षसम्मका लागि पुनर्तालिकीकरण गर्न सकिने व्यवस्था गरेको हो।

 

निर्देशनअनुसार पुनर्तालिकीकरणका लागि ऋणीले कर्जा तिर्न नसकेको कारणसहित निवेदन दिनुपर्नेछ। साथै ऋणी खराब कर्जाको सूचीमा नरहेको र यसअघि यस्तो सुविधा नलिएको हुनुपर्नेछ। कर्जामा पाकेको ब्याजको १० प्रतिशत ब्याज भुक्तानी गरेको तथा पुनर्तालिकीकरण गर्दा एक तह माथिको कर्जा वर्गीकरण गर्न सकिने अवस्था हुनुपर्नेछ।

 

प्राधिकरणले सहकारी संस्थालाई आफ्ना सदस्यसँग नियमित सम्पर्क गरी वित्तीय साक्षरता अभिवृद्धि र सदस्यकेन्द्रित कारोबारमार्फत विश्वास आर्जन गर्न पनि निर्देशन दिएको छ।

 

त्यस्तै, ऋण तथा बाँकी बक्यौता असुलीलाई प्रभावकारी बनाउन सदस्यहरूले माग गरेको बचत रकम फिर्ता गर्ने व्यवस्था मिलाउन भनिएको छ।

 

पुनर्तालिकीकरण गरिएको कर्जाको किस्ता लगातार ६ महिनासम्म नियमित भएपछि त्यस्तो कर्जामा गरिएको ‘राइट ब्याक’ रकमलाई मात्र सञ्चित मुनाफा खातामा लेखांकन गर्न सकिने व्यवस्था गरिएको छ।

 

प्राधिकरणले आर्थिक वर्ष २०८१/०८२ को अवधिभित्र प्राप्त भएको ब्याज आगामी असोज १५ गतेभित्र भुक्तानी गरेमा त्यसलाई आर्थिक वर्ष २०८१/०८२ कै आम्दानीका रूपमा गणना गर्न सकिने व्यवस्था पनि गरेको छ ।