२०८२ साउन ०१ गते
काठमाडौ । नेपाल स्टक एक्सचेन्जले १० कित्ता भन्दा कम सेयर खरिदबिक्रिलाई सहज बनाएको छ । नेप्सेले अडलट कारोबारलाई सहज बनाइएको बताएको छ ।
आम लगानीकर्ताको माग बमोजिम नेप्सेले आजैबाट (साउन १) नेप्से वेबसाइटको मार्केट डेप्थमा अड लट खरिद तथा विक्री आदेश देख्न सकिने बनाएको छ । यसले आफुसँग अड लट धितोपत्र हुँदा खरिदविक्री गर्न नपाएको भन्ने लगानीकर्ताको गुनासो सम्बोधन हुने विश्वास नेप्सेले लिएको छ ।
धितोपत्र कारोबार विनियमावली, २०७५ मा अड लट कारोबार सम्बन्धी व्यवस्था छ । यस अनुसार धितोपत्रको अंकित मूल्य १० रुपैयाँ भएमा १०० कित्ता, अंकित मूल्य १०० रुपैयाँ भएमा १० कित्ता र अंकित मूल्य १ हजार रुपैयाँ भएमा एक कित्ताको कारोबारलाई बोर्ड लट भनिन्छ । विनियमावलीले उल्लिखित भन्दा कम कित्ताको कारोबारलाई अड लट कारोबार भनेर परिभाषित गरेको छ ।
अड लट कारोबारलाई मूल्य परिवर्तन सीमा र बजार परिसूचक गणनामा समावेश गरिदैन । धितोपत्रधनीले बोर्ड लटमा भएको धितोपत्रलाई टुक्र्याएर अड लट बनाउन नपाउने व्यवस्था विनियमावलीमा छ ।
प्रतिक्रिया