२०८३ असार १९ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले सरकारले ठूलो लगानी गरेका कतिपय भौतिक पूर्वाधारबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको भन्दै आगामी दिनमा सार्वजनिक लगानीको क्षेत्र छनोटमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।
आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको तयारीका क्रममा नेपाल राष्ट्र बैंकले थापाथलीस्थित कार्यालयमा आयोजना गरेको सरोकारवालासँगको राय–सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर पौडेलले देशभर निर्माण गरिएका ५६ वटा सभाहल र ३२ वटा विमानस्थलको उदाहरण प्रस्तुत गर्दै यस्ता पूर्वाधारमा भएको ठूलो लगानीले अपेक्षाअनुसार आर्थिक प्रतिफल वा राजस्व वृद्धि गर्न नसकेको बताए।
उनले सिमेन्ट र स्टिलजस्ता ठूला उद्योगहरू पनि हाल आफ्नो कुल उत्पादन क्षमताको करिब ४० प्रतिशत मात्र सञ्चालन भइरहेको उल्लेख गर्दै अर्थतन्त्रमा रहेको सुस्तताको अवस्था सबैलाई ज्ञात रहेको बताए।
गभर्नर पौडेलले दीर्घकालीन आर्थिक वृद्धिका लागि भौतिक पूर्वाधार निर्माण मात्र पर्याप्त नहुने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र मानव पुँजी विकासमा लगानी बढाउनुपर्नेमा जोड दिए। विकसित राष्ट्रहरूको अनुभवले पनि आविष्कार, अनुसन्धान, सीपयुक्त जनशक्ति र गुणस्तरीय शिक्षामै दिगो आर्थिक विकासको आधार रहेको उनको भनाइ थियो।
उनले अर्थतन्त्रलाई चलायमान बनाउन कर्जा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्ने तथा उत्पादनशील क्षेत्रमा वित्तीय स्रोत परिचालन गर्नुपर्ने आवश्यकता औँल्याए। साथै, दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्न मानव पुँजीमा पर्याप्त लगानी गर्नु अपरिहार्य रहेको बताए।
मौद्रिक नीतिबारे बोल्दै गभर्नर पौडेलले पछिल्लो एक वर्षमा राष्ट्र बैंकले अपेक्षाकृत स्थिर मौद्रिक नीति अवलम्बन गरेको उल्लेख गरे। ब्याजदर करिब २.७५ प्रतिशतको हाराहारीमा रहँदा बैंकिङ प्रणालीमा तरलताले ठूलो समस्या नदेखिएको उनले बताए।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमाअघि विभिन्न सरोकारवाला निकायसँग राय–सुझाव संकलन गरिरहेको छ। सोही क्रममा आयोजित अन्तरक्रिया कार्यक्रममा निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, उद्योगी ,व्यवसयाी र सञ्चार क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
प्रतिक्रिया