२०८३ जेठ २९ गते
काठमाडौं । कुमारी बैंक लिमिटेडले आइएमएस सफ्टवेयर प्रा.लिसँगको सहकार्यमा नेपालको पहिलो इआरपि एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सार्वजनिक गरेको छ ।
कुमारी बैंकले आफ्ना व्यवसायी ग्राहकहरूलाई आइएमएसको इआरपि सफ्टवेयर मार्फत बिनाधितो कर्जा प्रदान गर्नेछ । यसका लागि लामो कागजी प्रक्रिया तथा शाखा धाउने झन्झट हट्ने छ । यस प्ल्याटफर्मले कर्जा आवेदन, स्वीकृति, वितरण तथा भुक्तानीसम्मको सम्पूर्ण प्रक्रिया डिजिटल माध्यमबाट सम्पन्न गर्ने सुविधा प्रदान गर्दछ ।
इआरपी प्रणालीसँगको प्रत्यक्ष एकीकरणमार्फत बैंकले व्यवसायहरूको बिक्री, कारोबार तथा मौज्दातजस्ता वास्तविक समय डेटाका आधारमा कर्जा योग्यता मूल्याङ्कन गर्न सक्नेछ । यस डेटामा आधारित प्रणालीले छिटो र सटीक निर्णय लिन सहयोग पु¥याउँदै परम्परागत धितो विनै व्यवसायहरूलाई वित्तीय पहुँच उपलब्ध गराउँछ ।
यसमार्फत इआरपि प्रयोग गर्ने व्यवसायहरूले आफ्नै कार्यसम्पादनका आधारमा रु पाँच लाख रुपैयाँ सम्मको चालु पूँजी कर्जा प्राप्त गर्न सक्नेछन्, जसलाई १२ महिनासम्मको समान मासिक किस्ता मार्फत भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ । सेवाको प्रयोग, माग तथा नेपाल राष्ट्र बैंकको निर्देशनका आधारमा भविष्यमा कर्जा सीमा वृद्धि गर्दै वित्तीय प्रक्रियालाई अझ सरल, छिटो र प्रभावकारी बनाउने योजना बैंकले राखेको छ ।
यो पहल नेपाल राष्ट्र बैंकको डिजिटल कर्जा सेवा विस्तार तथा कर्जामा पहुँच अभिवृद्धि गर्ने परिकल्पनाअनुरूप नवप्रवर्तन र वित्तीय समावेशीकरणप्रति कुमारी बैंकको प्रतिबद्धताको प्रतिविम्ब भएको र यसले विशेषगरी साना तथा मझौला उद्यमीहरूलाई लाभान्वित गर्ने विश्वास गरिएको छ ।
नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याइरहेका ९ लाखभन्दा बढी साना तथा मझौला उद्यमहरूलाई लक्षित गर्दै ल्याइएको यस पहलले वित्तीय समावेशीकरणलाई थप सुदृढ पार्ने अपेक्षा गरिएको छ । साथै, यसले उद्यमशीलता प्रवद्र्धन, व्यवसाय विस्तार तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक योगदान पु¥याउने विश्वास गरिएको छ ।
२८६ शाखा र ४१ एक्सटेन्सन काउन्टरहरूको देशव्यापी सञ्जालहरु, सुदृढ बैंकिङ्ग अनुभव तथा प्रविधिक साझेदारहरूसँगको सहकार्यबाट कुमारी बैंक नेपालमा डिजिटल वित्तीय रूपान्तरणको अग्रपंक्तिमा उभिएको र यस पहलले साना तथा मझौला उद्यमीहरुको कर्जा पहुँचमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वासका साथ बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ र उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया