२०८३ साउन ०२ गते
काठमाडौं । कामना सेवा विकास बैंकले नाफा सँगै प्रतिसेयर आम्दानी बढेको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ८९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो भनेको गत आवको ६६ करोड ९७ लाख रुपैयाँको तुलनामा ३३.५१ प्रतिशतले बढी हो ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि बढोत्तरी छ । बैंकको प्रतिसेयर आम्दानी २२.७५ रुपैयाँ पुगेको छ । गत आव अन्त्यमा बैंकको प्रतिसेयर आम्दानी १९.०८ रुपैयाँ रहेको थियो ।
अघिल्लो आर्थिक वर्षको विवतरणयोग्य नाफाबाट सेयरधनीलाई लाभांश वितरण गरेर बाँकी रहेको रकम समेत गरेर बैंकको कुल सञ्चित नाफा ६० करोड ११ लाख रूपैयाँ पुगेको छ । यसले बैंकले सेयरधनीलाई १५.१६ प्रतिशत लाभांश दिनसक्ने देखिन्छ । खुद ब्याज आम्दानी पनि बढेको छ । बैंकले एक वर्षमा ५ अर्ब १९ करोड रूपैयाँ ब्याज आम्दानी गरी २ अर्ब ७८ करोड रूपैयाँ ब्याज खर्च गरेको हो ।
बैंकको सञ्चालन मुनाफा अघिल्लो वर्ष १ अर्ब ४ करोड रुपैयाँ रहेकोमा यस वर्ष १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । बैंकको निस्क्रिय कर्जा भने थोरै बढेको छ । अघिल्लो आवको अन्त्यमा कुल निष्क्रिय कर्जा अनुपात ३.४९ प्रतिशत रहेकामा अहिले ३.७७ प्रतिशत पुगेको छ ।
पुँजी कोष अनुपात १२.५८ प्रतिशतबाट बढेर १४.१६ प्रतिशत पुगेको छ भने प्राथमिक पुँजी अनुपात ९.१९ प्रतिशतबाट बढेर ११.६६ प्रतिशत पुगेको छ । बैंकको कोषको लागत ५.०९ प्रतिशतबाट घटेर ३.६९ प्रतिशत पुगेको छ भने आधार दर ७.०७ प्रतिशतबाट घटेर ५.५३ प्रतिशत पुगेको छ ।
बैंक तथा वित्तिय संस्थामा सबैभन्दा पहिले अपरिष्कृत वित्तिय विवरण प्रकाशन गर्ने कामना पहिलो बैंक बनेको छ ।
प्रतिक्रिया