२०८३ साउन ०१ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले क्रिप्टोकरेन्सी नेपालको वित्तीय प्रणालीका लागि उदीयमान चुनौती बन्दै गएको बताएका छन्। नेपालमा क्रिप्टोकरेन्सी कारोबार अझै कानुनी रूपमा प्रतिबन्धित भए पनि यसको प्रयोग र आर्थिक प्रभावबारे राष्ट्र बैंकले गम्भीर अध्ययन गरिरहेको उनले जानकारी दिए।
गभर्नर पौडेलका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सार्वजनिक गरेको तथ्यांकले नेपालमा क्रिप्टोकरेन्सी होल्डिङ मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ५ प्रतिशत बराबर हुन सक्ने संकेत गरेको छ। यही तथ्यांकलाई आधार बनाएर राष्ट्र बैंकले नेपाल प्रहरीसँग समन्वय गरी विस्तृत अध्ययन अघि बढाएको उनले बताए।
उनले आईएमएफले उक्त तथ्यांक कसरी तयार पारेको भन्ने विषयमा समेत जानकारी मागिएको उल्लेख गर्दै पर्याप्त तथ्य र अध्ययनपछि मात्रै आवश्यक नीतिगत तथा कानुनी निर्णय लिइने स्पष्ट पारे।
गभर्नर पौडेलले डिजिटल बैंकिङ, क्रिप्टोकरेन्सी तथा वित्तीय प्रविधिको तीव्र विकासले विश्वभर बैंकिङ प्रणालीमा नयाँ चुनौती सिर्जना गरिरहेको उल्लेख गर्दै नेपालले पनि समयानुकूल कानुनी र नीतिगत तयारी गर्नुपर्ने अवस्था आउन सक्ने बताए। साथै, क्रिप्टोकरेन्सीको प्रयोगले राजस्व संकलनमा समेत प्रभाव पारेको हुन सक्ने भएकाले त्यस पक्षको पनि अध्ययन भइरहेको जानकारी दिए।
प्रतिक्रिया