२०८२ चैत २० गते
काठमाडौं । नेपालमा बैंकिङ क्षेत्र रोजगारी, सेवा सुविधा र आम्दानीका हिसाबले आकर्षक पेशाका रूपमा स्थापित हुँदै गएको छ । सरकारी जागिरपछि स्थायित्व, सुविधा र तलबका कारण बैंक–वित्तीय संस्था युवाहरूको रोजाइमा पर्ने गरेका छन् । यसै सन्दर्भमा वाणिज्य बैंकहरूमध्ये पुँजी, नाफा र कर्मचारी सेवा सुविधाका दृष्टिले ग्लोबल आइएमई बैंक अग्रस्थानमा देखिएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को आठ महिनासम्ममा ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुगेको छ, जुन हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये सबैभन्दा ठूलो हो । पुँजीका आधारमा दोस्रो स्थानमा रहेको नबिल बैंकको चुक्ता पुँजी ३२ अर्ब ५ करोड ७० लाख रुपैयाँ रहेको छ । यसले ग्लोबल आइएमई बैंकको वित्तीय सुदृढता र विस्तार क्षमता रहेको स्पष्ट संकेत गर्दछ ।
पुँजी मात्र होइन, नाफाका हिसाबले पनि ग्लोबल आइएमई बैंक अग्रणी बैंकहरूमध्ये मैं पर्छ । चालु आर्थिक वर्षको आठ महिनामा बैंकले ४ अर्ब ६२ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । राष्ट्र बैंकका अनुसार यो नाफा वाणिज्य बैंकहरूमध्ये दोस्रो उच्च हो ।
नाफा वृद्धि हुनु भनेको बैंकको सञ्चालन क्षमता, जोखिम व्यवस्थापन र बजारमा यसको प्रतिस्पर्धात्मक स्थिति बलियो हुनु हो । बैंकले कमाएको नाफाले राज्यलाई पनि उल्लेखनीय योगदान पुर्याएको छ । ग्लोबल आइएमइ बैंकले आयकरका लागि १ अर्ब ७२ करोड रुपैयाँभन्दा बढी रकम छुट्याएको छ । बैंक तथा वित्तीय संस्थाहरूले जति धेरै नाफा कमाउँछन, राज्यले पनि आयकरमार्फत त्यति नै बढी राजस्व प्राप्त गर्छ । यस अर्थमा बैंकहरूको आर्थिक प्रगति देशको समग्र अर्थतन्त्रका लागि पनि सकारात्मक मानिन्छ ।
कर्मचारी खर्च करिब साढे २ अर्ब, बोनसका लागि ७० करोड
ग्लोबल आइएमइको कर्मचारीहरुको तलब तालिम लगायतका खर्च (स्टाफ एक्सपेन्सन ) २ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । कर्मचारी खर्चअन्तर्गत (स्टाफ एक्सपेन्स) तलब भत्ता, तालिम, सञ्चय कोष र उपदानमा जाने रकम समेत समेटिएको हुन्छ ।
कर्मचारीमा सबैभन्दा बढी लगानी गर्नेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक रहेको छ । नाफामा अन्य बैंक भन्दा पछाडी यस बैंकको कर्मचारीमा गर्ने लगानी बढी देखिन्छ ।
बैंकहरुको नाफा र कर्मचारी खर्चलाई विश्लेषण गरेर बैंकका कर्मचारीहरुको प्रफर्मेन्स निकाल्ने गरिन्छ । व्यवस्थापकीय दृष्टिकोणबाट थोरै तलब खाएर धेरै नाफा कमाउने कर्मचारीको प्रफर्मेन्सलाई राम्रो मानिन्छ । ग्लोबल आइएमइको पनि नाफाको तुलनामा दोब्बर कम कर्मचारी खर्च भएको देखिन्छ । यसले बैंकका कर्मचारीहरू उत्पादक र दक्ष रहेको संकेत गर्दछ ।
कर्मचारी पर्पmमेन्सका आधारमा सरकारी बैंकको तुलनामा निजी बैंकका कर्मचारीहरु धेरै अग्र स्थानमा रहेको तथ्यांकले देखाउँछन् । यस्तै नाफामा मात्र केन्द्रित हुने आरोप लाग्दै आएका बैंकहरुले नाफा सुधारमा अहोरात्र खटिने कर्मचारीका लागि बोनसको राम्रै व्यवस्था गरेका छन् । ग्लोबल आइएमइले पनि आफ्ना कर्मचारी बोनसका लागि भनेर ७० करोड ५२ लाख रुपैयाँ छुट्याएको छ । बाणिज्य बैंकहरुमा कर्मचारीका लागि सबैभन्दा राम्रो बोनस छुट्याउँने बैंकमा नबिल अगाडी छ ।
नेपालका बैंकिङ संस्थाहरूको विकासक्रममा मर्जर तथा एक्विजिसन (गाभ्ने र किन्ने) प्रक्रिया निकै महत्वपूर्ण रहँदै आएको छ । ग्लोबल आइएमइ बैंक यसको उत्कृष्ट उदाहरण पनि हो । यस बैंकमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनी गरी कुल २१ वित्तीय संस्थाहरू गाभिएका छन् । प्रारम्भिक चरणमा कमजोर कार्यसम्पादन गरेका संस्थाहरूलाई समेटेर पनि बैंकले उल्लेखनीय सुधार गर्न सफल भएको छ । यसले व्यवस्थापन क्षमता र रणनीतिक दृष्टिकोणको प्रभावकारिता देखाउँछ ।
यस बैंकमा ६ खर्ब ४७ अर्ब ५६ करोड रुपैयाँ निक्षेप छ । ४ खर्ब ६७ अर्ब बढी ऋण लगानी छ । उच्च निक्षेपले बैंकको तरलता अवस्था बलियो हुनुका साथै लगानी विस्तार गर्ने क्षमता पनि बढाउँछ । यसले बैंकलाई ठूला परियोजनामा लगानी गर्न र आर्थिक गतिविधि विस्तार गर्न सक्षम बनाउँछ ।
बैंकको कुल सम्पत्ति अहिले ६ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ जुन नेपालको बैकिङ क्षेत्रमै सबैभन्दा ठूलो हो । पुँजी पर्याप्तता कोष १२.१७ प्रतिशत छ जुन राष्ट्र बैंकको नियमनकारी सीमा भन्दा माथि हो ।
ग्लोबल आइएमइ बैंकको वित्तीय प्रदर्शन, कर्मचारीमैत्री नीति र संस्थागत विस्तारले नेपालको बैंकिङ क्षेत्रको समग्र विकासमा सकारात्मक योगदान पुर्याइरहेको छ । आगामी दिनमा पनि यस्ता बैंकहरूले प्रतिस्पर्धात्मक सेवा, प्रविधिमैत्री नवप्रवर्तन र ग्राहक केन्द्रित रणनीतिमार्फत अझ सुदृढ भूमिका खेल्नु पर्ने देखिन्छ ।
प्रतिक्रिया