२०८२ साउन ०१ गते
काठमाडौ । आर्थिक वर्ष २०८१/८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा ऐतिहासिक रेकर्ड कायम भएको छ । बजारका अन्य परिसूचकमा पनि उक्त आर्थिक वर्षमा उल्लेख्य सुधार भएको छ ।
नेपाल स्टक एक्सचेन्जको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा ७ खर्ब ३४ अर्ब ६८ करोड बराबरको धितोपत्रको कारोबार भएकोमा आर्थिक वर्ष २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम आर्थिक वर्ष २०८०/८१ को तुलनामा १८९.२३ प्रतिशतले बढी हो । यस अघि आर्थिक वर्ष २०७७/ ७८ मा सबैभन्दा धेरै रकम (१४ खर्ब ५४ अर्ब ४४ करोड रुपैयाँ) को कारोबार भएको थियो ।
यसैगरी वर्ष २०८१ को असार मसान्तमा ३५ खर्ब ५३ अर्ब ६७ करोड रहेको बजार पुँजीकरण २०८२ असार मसान्तमा ३१.०५ प्रतिशतले वृद्धि भई ४६ खर्ब ५६ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।वर्ष २०८१/८२ को अन्तसम्ममा सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ ।
उक्त आर्थिक वर्षमा मर्जर तथा एक्विजिसनका कारण ३ कम्पनी सूचीकरणबाट हटेका छन् भने प्रथम सार्वजनिक निष्कासन मार्फत ४ वटा कम्पनी थपिएका छन् । प्रथम निष्कासन मार्फत ३ करोड ६५ लाख कित्ता सेयर, थप निष्कासन मार्फत ११ लाख २० हजार कित्ता सेयर, सरकारबाट थप गरिएको तथा स्थानीयलाई वितरण गरिएको ४ करोड ३२ लाख ५८ कित्ता सेयर, सामुहिक लगानी कोषका ३७ करोड ८१ लाख एकाई र संस्थागत ऋणपत्र ८३ लाख कित्ता गरी जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन् ।
प्रतिक्रिया