२०८२ साउन ०१ गते
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पोखरास्थित विवादित जग्गा प्रकरणसम्बन्धी ‘अडियो रेकर्ड’ आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले सार्वजनिक गरिएको बताएका छन् ।
वार्षिक उपलब्धिसम्बन्धी जानकारी दिने उद्देश्यले मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले केही दिनदेखि आफ्नो र परिवारका सदस्यको समेत नाम जोडी सुनियोजित ढङ्गबाट ‘अडियो रेकर्ड’ सार्वजनिक भएकामा आपत्ति व्यक्त गरे ।
भूमिसुधार मन्त्री अधिकारीले आवश्यक ऐन, नियम, कानुनसहित कार्य संयन्त्र निर्माण गरी देश र जनताका पक्षमा राम्रो काम गरिरहेको मन्त्रीका विषयमा यस किसिमको अफवाह फैलाएर चरित्र हत्या गर्ने प्रयास भइरहेको उल्लेख गर्दै सो ‘अडियो रेकर्ड’का विषयमा यथार्थ छानबिन होस् भन्ने पक्षमा आफू रहेको स्पष्ट गरे।
आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछिको एक वर्षको अवधिमा भूमि व्यवस्था, सहकारी र गरिबी निवारणका क्षेत्रमा धेरै राम्रा काम दाबी गर्दै उनले यसबीचमा भएका राम्रो कामको सरहना गरी धन्यवाद दिनुको सट्टा मन्त्रीकै चरित्रमाथि आँच पुर्याउने काम भएकामा खेद व्यक्त गरे ।
विवादित उक्त ‘अडियो रेकर्ड’ र जग्गा प्रकरणका सन्दर्भमा सत्यतथ्य समाचार बाहिर ल्याउन आमसञ्चारकर्मीसँग अनुरोध गर्दै मन्त्री अधिकारीले भने, “चरित्र हत्या गर्ने उद्देश्यका साथ अडियो रेकर्ड सार्वजनिक भएको छ । आफूसहित परिवारका सदस्यलाई जोडेर सार्वजनिक गरिएको ‘अडियो रेकर्ड’का बारेमा यथार्थ छानबिन होस् । जिम्मेवार आमसञ्चारमाध्यमले पनि विषयको गहिराइमा पुगेर सत्यतथ्य समाचार सम्प्रेषण गरे । त्यसमा दोषी देखिए जस्तोसुकै सजाय भोग्न तयार छु ।”
प्रतिक्रिया