२०८३ असार ३१ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तरलता (लगानीयोग्य रकम) तान्दैछ । केन्द्रिय बैंकले ९१ दिने निक्षेप संकलन उपकरण मार्फत उक्त रकम तान्न लागेको हो । निक्षेप दिन चाहने बैंक तथा वित्तिय संस्थाले आजै दिउसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोल गर्न सक्नेछन् ।
यस निक्षेपको सावाँ ब्याज भुक्तानी असोज २८ गते हुनेछ । घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिनेछ । यो निक्षेपलाई बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने छ । निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ ।
बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलन कोबोलकबोलमा निक्षेप वापत् जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।
निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिनेछ । समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल रकमभन्दा बढी भएमा प्रो राटाको आधारमा बाँडफाँड गरिनेछ ।
बैंकिङ प्रणालीमा निक्षेप थुप्रने र कर्जा नजाने समस्या चालु आर्थिक वर्ष भरिनै रह्यो । केन्द्रिय बैंकले बैंकहरुमा थुप्रिएको रकमको व्यवस्थापनको लागि पटक पटक बैंकि प्रणालीबाट रकम तानिरहेको छ ।
प्रतिक्रिया