२०८१ फागुन २९ गते
हेटौँडा। मकवानपुर मनहरी गाउँपालिका–१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना बोकेर २३ वर्षसम्म आफ्नो ऊर्जा भारतमै खर्चिए। २३ वर्षसम्म सवारीसाधन चलाए पनि उनले धन कमाउन भने सकेनन् । त्यसैबीच विश्वभर फैलिएको कोरोना महामारी उनलाई आफ्नै जन्मभूमि फर्किने बहाना बनेर आयो । वर्षौ पसिना खर्चेको देशमा पेट पाल्नसमेत धौधौ भएपछि उनी गाउँ फर्किए । यही क्षण उनका लागि अवसर बनेर आयो । गाउँमै पसिना बहाएपछि उनी सात वर्ष नबित्दै व्यावसायिक कृषक बन्न सफल भएका छन् ।
न्यौपानेले हाल मासिक करिब एक लाखसम्म कमाई हुने गरेको सुनाए । अर्काको देशमा २३ वर्ष बिताउँदा पनि बिहान बेलुकाको हातमुख जोर्न सीमित उनी जीवनस्तर आफ्नै माटोमा पसिना चुहाउँदा छोटो समयमै राम्रो सफलता पाएपछि उनी अचेल निकै हर्षित छन् । “दुई छोराछोरीको पठनपाठनदेखि परिवारको हरेक आवश्यकता सहज रूपमा टर्न थालेको छ । हिजो दैनिकी चले पनि समस्या परेका बेला बचत नहुँदा निकै समस्या हुने गरेको थियो । अचेल केही रकम बचत गर्न पनि सफल भएको छु”, उनले भने ।
हाल उनले गरिरहेको व्यवसाय हो, कृषि र पशुपालन । कोरोना महामारीले दिएको चोटबाट रन्थनिएर नेपाल फर्किएका न्यौपाने हिजो जुन बारी बाँझो राखेर विदेशीएका थिए, आज त्यही बारिमा श्रम, पसिना खेर्चेर राम्रो आम्दानी गर्न सफल भएका हुन् । उनले हाल नौ कट्ठा जमिनमा माल्पा जातको ३०० गाँज केरा लगाएका छन् । त्यसबाट वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी गरिरहेको न्यौपाने बताउँछन् । यस्तै दुध दिने चारवटा गाईबाट दैनिक ४० लिटर दुध बिक्री गरी वार्षिक करिब रु नौ लाखको कारोबार गर्छन् । “मैले प्लास्टिक हाउस ९टनेल० मा गोलभेँडाखेती, व्यावसायिक केराखेती र गाईपालन गरिरहेको छु । तरकारीखेतीका लागि आवश्यक विषादी अग्र्यानिक रूपमा बनाएर प्रयोग गरिरहेको छु । चारवटा गाई र पाँचवटा बाच्छाबाच्छीपालनको मूत्र सङ्कलनका लागि ट्याङ्की निर्माण गरेको छु । त्यही मूत्र तरकारीमा प्रयोग गर्छु”, उनले भने,“यसकारण सबैतिर रासायनिक मलको हाहाकार भएर समस्या भयो भनेर गुनासो आइरहँदा मैले कहिल्यै चिन्ता गर्नुपरेन । एकातिर अग्र्यानिक उत्पादन हुने, अर्कोतिर आफ्नै गोठ र बारीमा उत्पादन भएको मल र मुत्र प्रयोग गर्दा पैसा बाहिर खर्च गर्नु पनि पर्दैन । कारोबार मात्रै होइन, खर्च कटाएर आम्दानी पनि राम्रै हुन्छ ।”
माटो जाँच गर्दा अम्लियपना भेटिएपछि उपचारका रुपमा गौ मूत्रको प्रयोग सुरु गरेका कृषक न्यौपानेले आफूले रासायनिक मल र विषादीबिना नै व्यावसायिक कृषि गरिरहेको बताए । उनी भन्छन्, “मलाई रासायनिक मल र विषादीको आवश्यकता पनि पर्दैन र त्यसमा खर्च पनि हुँदैन, गाई पालेको छु, मल पनि हुन्छ अनि किरा मार्ने औषधि पनि ।” उनले गाईका लागि १० कट्ठा जग्गामा जैँ घाँस र नेपिएर लगाएको बताए । सबै कुरा आफ्नै बारीको प्रयोग गर्दा वार्षिक रु नौ लाख बढीको दूध बिक्री गर्दा सबै खर्च कटाएररु सात लाख आम्दानी हुने गरेको न्यौपानेले सुनाए ।
चारवटा प्लास्टिक हाउस ९टनेल० मा गोलभेँडाखेती गरिरहेका उनले अन्तरबालीका रूपमा बन्दा पनि लगाउँछन्। श्रृजना र कविता जातको गोलभेँडा लगाएका न्यौपानेले वार्षिक रूपमा ५० क्विन्टल उत्पादन गरेर स्थानीयस्तरमै रु दुई लाख पचास हजारसम्मको बिक्री गर्दै आएको बताए ।
यस व्यवसायमा लागेपछि दुःख भए पनि न्यौपानेले मेहनतअनुसारको फल भने पाइरहेका छन् । यसै व्यवसायबाट जीवनस्तर सुधारिँदैछ । यदी सरकारले स्थानीय उत्पादन प्रोत्साहन, लागत न्यूनीकरणका लागि सहुलियत, सीमापारि भारतबाट सस्तोमा आउने केरा, तरकारीको नियमन गर्न सके आफूहरूजस्ता धेरै किसान लाभान्वित हुने उनको बुझाइ छ । यसमा साथै रासायनिक मलको प्रयोग निरुत्साहन र आफूलेजस्तो प्राङ्गारिक मल, गौ मलमुत्र प्रयोगमा आवश्यक सचेतना वद्धि, समय समय माटोको उर्वराशक्ति परीक्षण तथा समस्या समाधानका लागि तीनै तहका सरकारले आयोग सहयोग गर्नुपर्ने उनको आग्रह छ ।रासस
प्रतिक्रिया