दशैं तिहारमा राराताल आउने पर्यटक बढे

२०८३ कात्तिक ११ गते

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा बृद्धि भएका छन् । सुर्खेत, दैलेख, कालीकोट, जुम्ला हुँदै मुगुको रारातालमा दशैं बिदा तिहार घुम्न आउने पर्यटक बढेका हुन् । कर्णालीको प्रमुख पर्यटकीयस्थल मध्ये राराताल एक हो । दशैं तिहारमा लामो बिदा परेका कारणले आन्तरिक पर्यटक बढेका छन् । 

 

Advertisement:

Ad

अन्य समयभन्दा रारातालमा दशैं तिहारको बीचमा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेको कालीकोटको मान्म बजारमा रोनी होटेलका सञ्चालक जीवनबहादुर शाहीले बताए । ‘विगतभन्दा अहिलेको समयमा राराताल घुम्न आउने दैनिक एक सय ५० जनासम्म आन्तरिक पर्यटकहरु सडकमागबाट आउने गरेका छन्,’ उनले भने, ‘रारातालमा घुम्न आउने प्रायः पर्यटकहरु नेपाल भित्रका हुने गरेका छन् । उनीहरु गाडी र मोटरसाइकलमा आउने गरेका छन् ।’ 

 

हिउँदमा चिसो, बर्षायाममा कर्णाली राजमार्ग सडकले सास्ती दिने भएकाले असोज कार्तिकको महिना रारा आउने पर्यटकका लागि उपयुक्त भएका कारणले विगतकोभन्दा अहिले रारातालमा घुम्न आउने पर्यटकको संख्यामा बृद्धि हुने गरेको कालीकोटको नाग्म बजारमा होटेल व्यवसाय गरिरहेका राजबहादुर बुढाले बताए । ‘रारातालमा घुम्नलाई चैत्र बैशाख र जेठ महिना र भदौं असोज, कार्तिक महिना उपयुक्त महिना मानिन्छ,’ उनले भने, ‘आजभोली रारातालमा घुम्न आउने पर्यटकको बृद्धि भएको छ ।’

 

रारातालमा घुम्न आउने पर्यटकको संख्या बृद्धि भएको मुगुका प्रमुख जिल्ला अधिकारी पोषनाथ भण्डारीले बताए । ‘रारातालमा आउने पर्यटकको संख्या बृद्धि भएको छ,’ उनले भने, ‘यहाँ आउने प्रायः पर्यटकले बासस्थानको समस्याका कारणले त्यहाँ नबसेर मुगुको सदरमुकाम गमगढीमा पनि आउने गरेका छन् ।’ रारातालको सौन्दर्यले सबैलाई लोभ्याउने गरेको भएपनि यहाँको आउने पर्यटकको सुबिधालाई ध्यान दिने काम नभएको र सडक तथा बासस्थानको उचित व्यवस्थापनमा कसैले ध्यान दिन नसकेको जिल्ला अस्पताल कालीकोटका प्रमुख डा.रत्नवीर सुनारले बताए । ‘राराताल अहिले नेपालका प्रमुख पर्यटकीय गतब्य बनेको छ । तर, सडक भरपर्दो नहुँदा पर्यटकका लागि सास्ती खेप्नुपर्छ,’ उनले भने, ‘त्यसतर्फ राज्यको खासै ध्यान जान सकेको छैन् । त्यसका लागि पूर्वाधारलगाएतका अन्य संरचना निर्माण हुन जरुरी रहेको छ ।’

 

पर्यटकको रोजाई स्थानीय खाद्यान्नका परिकार

यहाँ आउने पर्यटकको रोजाइमा स्थानीय खाद्यान्न पर्न थालेका छन् । राराको प्राकृतिक सुन्दरताको अवलोकनसँगै मौलिक स्वाद चाख्न चाहने पर्यटकका कारण स्थानीय खाद्यान्न परिकारप्रति आकर्षण बढ्दै गएको हो ।

 

स्थानीयस्तरमा उत्पादन हुने सिमी, फापर, कोदो, मकै, आलु, सिस्नो, दाते ओखर, स्याउ तथा अन्य परम्परागत खाद्यवस्तुको पर्यटकले स्वाद लिनुका साथै कोसेलीका रुपमा लैजाने गरेको कालीकोट मान्म बजारका व्यापारी रेशम रानाले बताए । ‘यहाँ आउने प्रायः पर्यटकहरुले स्थानीयस्तरमा उत्पादन हुने बस्तु खोजिरहनु भएको हुन्छ,’ उनले भने ‘त्यो खाद्यान्न पुर्याउनका लागि समस्या हुने गरेको छ ।’  स्थानीय खाद्यान्नको प्रयोगले यहाँका किसान, होटल तथा होमस्टे सञ्चालक र साना व्यवसायीलाई आर्थिक लाभ पुर्‍याउन सहयोग गरेको र स्थानीय उत्पादनलाई प्राथमिकता दिएर परिकार दिनका लागि व्यवसायीहरुलाई प्रोहोत्सान गरिएको कालीकोट उद्योग बाणिज्य संघका अध्यक्ष रतनबहादुर शाहीले बताए ।