भोलिदेखि हिम पर्वत हाइड्रोपावरको आईपीओ बजारमा आउँदै, न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने

२०८३ कात्तिक १० गते

भोलिदेखि हिम पर्वत हाइड्रोपावरको आईपीओ बजारमा आउँदै, न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले निष्काशन गर्न लागेको हो।

Advertisement:

Ad

स्थानीय बासिन्दाका लागि छुट्याइएको सेयरमध्ये १० लाख १४ हजार कित्ता आयोजनाको अति प्रभावित क्षेत्र दोलखाको बिगु गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नं। २, ३ र ४ का बासिन्दाका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७६ हजार कित्ता यी दुई गाउँपालिकाका अन्य वडाका स्थानीयका लागि छुट्याइएको छ।

दुवै समूहका आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले कात्तिक १६ गतेसम्म आवेदन दिनुपर्नेछ। स्थानीय बासिन्दाका लागि भने छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर १० गतेसम्म आवेदन खुला रहनेछ।

आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले मेरो सेयर वा सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाले तोकिएका बैंक शाखाबाट आवेदन दिन सक्नेछन्।

कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ, जसले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।