२०८३ कात्तिक १० गते
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्काशन गरेको ७ वर्षे ऋणपत्रमा आवेदन दिने आज (कात्तिक १० गते) अन्तिम दिन रहेको छ। बैंकले असोज २९ गतेदेखि वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ बिक्री खुला गरेको थियो।
बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका दरले कुल ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। यस ऋणपत्रको अवधि ७ वर्ष रहेको छ।
कुल निष्काशित ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ। बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणतर्फको कुल निष्काशनमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको बैंकले जनाएको छ।
न्यूनतम २५ कित्ताका लागि आवेदन दिन सकिने
यस ऋणपत्रमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतम भने निष्काशित सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।ऋणपत्रमा आवेदन दिन लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी पनि आवेदन दिन सकिनेछ। यस ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले सम्हालेको छ।
के छ ऋणपत्रको रेटिङ?
ऋणपत्र निष्काशनका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ्गस नेपालले राष्ट्रिय वाणिज्य बैंकलाई ‘केयर–एनपी सिंगल ए प्लस’ (CARE-NP A+) इस्यूअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले बैंकले आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षा रहेको संकेत गर्दछ। यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ६ प्रतिशतका दरले ब्याज प्राप्त गर्नेछन्। ब्याज रकम प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक अवधि समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गरिने व्यवस्था रहेको छ।
प्रतिक्रिया