२०८३ असार १२ गते
बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले शुक्रबार पुनः ४५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गरिने केन्द्रीय बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सक्नेछन्। आवेदन रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
निक्षेप संकलन प्रतिस्पर्धात्मक ब्याजदर (बोलकबोल) का आधारमा हुनेछ। साथै, बहुब्याजदर (Multiple Interest Rate) मा पनि एकभन्दा बढी बोलकबोल पेश गर्न सकिने व्यवस्था रहेको छ। यस उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। राष्ट्र बैंकले जारी गर्न लागेको ७५ दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी भदौ २४ गते भुक्तानी गरिने जनाएको छ।
प्रतिक्रिया