नेप्सेमा ७.९० अंकको सुधारसँगै कारोबार रकममा वृद्धि

२०८३ साउन ०८ गते

नेप्सेमा ७.९० अंकको सुधारसँगै कारोबार रकममा वृद्धि

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक एकल अंकले बढेको छ। बिहीबारको सकारात्मक लयलाई निरन्तरता दिँदै शुक्रबार नेप्से सामान्य अंकले उकालो लागेको हो। यस दिन नेप्से परिसूचक ७.९० अंकले बढेर २७३४.६३ विन्दुमा पुगेको छ। 

 

Advertisement:

Ad
Ad

बजारसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। बिहीबार ४ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार भने कुल ६ अर्ब २६ करोड ७२ लाख २६ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

 

आज उपसमूहतर्फ १३ मध्ये ७ वटा उपसमूह हरियालीमा रहे भने ६ वटा उपसमूह ओरालो लागेका छन्। बैंकिङ उपसमूह सर्वाधिक १.१७ प्रतिशतले बढ्दा विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त तथा निर्जीवन बीमा उपसमूह पनि सामान्य अंकले उकालो लागेका छन्। यता, म्युचुअल फण्ड उपसमूह भने सर्वाधिक २.०८ प्रतिशतले घटेको छ।

 

यस दिन एभरेष्ट कलर लिमिटेडको शेयरमा यस दिन पनि सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य ८४ रुपैयाँ ९० पैसा बढेर ६५१ रुपैयाँ १० पैसामा पुगेको हो। त्यसैगरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १४.५ प्रतिशतले उकालो लाग्दा सगरमाथा जलविद्युत कम्पनीको शेयर करिब ७ प्रतिशतले बढेको छ। 

 

यस दिन कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ३० करोड ९३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब २७ करोड ५० लाख रुपैयाँ र कुमारी बैंकको २५ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।