नयाँ खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य, खोलिसकेकाहरुले पनि असोज मसान्तसम्म अद्यावधिक गराउनुपर्ने

२०८३ साउन ०८ गते

नयाँ खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य, खोलिसकेकाहरुले पनि असोज मसान्तसम्म अद्यावधिक गराउनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित, विश्वसनीय र व्यवस्थित बनाउन भुक्तानी सेवा प्रदायक (वालेट कम्पनी) लाई राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य रूपमा यकिन गरेर मात्र नयाँ वालेट खोल्न निर्देशन दिएको छ।

 

Advertisement:

Ad
Ad

शुक्रबार जारी परिपत्रअनुसार अब नेपाली नागरिकका लागि नयाँ विद्युतीय वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखका आधारमा परिचयपत्रको विवरण प्रमाणीकरण गरी ग्राहक पहिचान (केवाईसी) पूरा गर्नुपर्नेछ।

 

राष्ट्र बैंकले यसअघि वालेट खोलिसकेका प्रयोगकर्ताको विवरण पनि अद्यावधिक गर्न निर्देशन दिएको छ। राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका नेपाली नागरिकको हकमा २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

 

यस्तै, राष्ट्रिय परिचयपत्र नलिएका वालेट प्रयोगकर्तालाई परिचयपत्र बनाएर ग्राहक पहिचान अद्यावधिक गर्न प्रत्येक महिना मोबाइल एप वा अन्य माध्यमबाट जानकारी गराउन पनि भुक्तानी सेवा प्रदायकलाई निर्देशन दिइएको छ।

 

राष्ट्र बैंकले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकका लागि भने विशेष व्यवस्था गरेको छ। विदेशमै बसेर अनलाइनमार्फत वालेट खोल्नुपर्ने अवस्थामा राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर नभए पनि अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न सकिनेछ। तर, त्यस्ता प्रयोगकर्ता नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित भुक्तानी सेवा प्रदायकले राष्ट्रिय परिचयपत्रको विवरण लिएर ग्राहक पहिचान अद्यावधिक गर्नुपर्नेछ।

 

त्यस्तै, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकको हकमा पनि राष्ट्रिय परिचयपत्र नभए अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न र कारोबार गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

 

राष्ट्र बैंकका अनुसार यो व्यवस्था कार्यान्वयनसँगै डिजिटल भुक्तानी प्रणालीमा ग्राहकको पहिचान थप विश्वसनीय हुने, गैरकानुनी कारोबार नियन्त्रणमा सहयोग पुग्ने तथा विद्युतीय भुक्तानी प्रणालीको सुरक्षा र पारदर्शिता थप मजबुत हुने अपेक्षा गरिएको छ।