२०८३ साउन ०६ गते
काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। लगातार ६ कारोबार दिनसम्म उकालो लागेको बजारमा यस दिन भने नाफा सुरक्षित गर्ने लगानीकर्ताको सक्रियतासँगै सामान्य करेक्सन देखिएको हो। यस दिन नेप्से परिसूचक १३.९५ अंकले घट्दै २७१२.५४ विन्दुमा कायम भएको छ।
आज कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो दिन ६ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा बुधबार ३४६ कम्पनीका १ करोड १३ लाख ६२ हजार कित्ता सेयर ५६ हजार ९४ पटक किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार रुपैयाँमा सीमित भएको छ।
बुधबार कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ४२ करोड ३० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २८ करोड रुपैयाँभन्दा बढी र रिलायन्स स्पिनिङ मिल्सको २६ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
यस दिन एभरेष्ट कलर लिमिटेडको सेयर लगातार दोस्रो दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको सेयरमूल्य ६४ रुपैयाँ २० पैसा बढेर ४९२ रुपैयाँ ४० पैसामा पुगेको छ।
आज उपसमूहतर्फ १३ मध्ये दुई उपसमूह मात्रै हरियालीमा रहे भने बाँकी ११ उपसमूह घटेका छन्। वित्त तथा उत्पादन तथा प्रशोधन उपसमूहमा सामान्य सुधार देखिँदा व्यापार उपसमूह सर्वाधिक २.६० प्रतिशतले घटेको छ। त्यस्तै, निर्जीवन बीमा उपसमूह पनि १.२६ प्रतिशतले ओरालो लागेको छ।
प्रतिक्रिया