जलवायु मुद्दामा विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समेटिए अर्थमन्त्री वाग्ले

२०८३ कात्तिक २३ गते

जलवायु मुद्दामा विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समेटिए अर्थमन्त्री वाग्ले

काठमाडौं । नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले जलवायु परिवर्तनसम्बन्धी मुद्दामा विश्वका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा समेटिएका छन्। १०३ वर्षको विरासत बोकेको प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्था टाइम (Time) को सन् २०२६ को सूचीमा अर्थमन्त्री वाग्ले छनोट भएका हुन्।

विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्ययन, अनुसन्धान, नीति निर्माण र राजनीतिक नेतृत्वमा सक्रिय वाग्लेले जलवायु न्याय, जलवायु वित्त तथा अन्तर्राष्ट्रिय प्रणालीगत सुधारका विषयमा पुर्‍याएको योगदानका आधारमा सूचीमा स्थान पाएका हुन्।

Advertisement:

Ad

विशेषगरी रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा उनले गरेको पैरवी, जलवायु वित्त जुटाउन गरेको पहल तथा उपलब्ध स्रोतको प्रभावकारी व्यवस्थापनका विषयमा अघि सारेका विचारलाई उनको छनोटको महत्वपूर्ण आधारका रूपमा उल्लेख गरिएको छ।

त्यसैगरी, जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न विद्यमान अन्तर्राष्ट्रिय प्रणालीमा सुधार आवश्यक रहेको विषयमा उनले राख्दै आएका धारणालाई पनि उल्लेखनीय मानिएको छ।

वाग्लेसँगै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायती राजकुमार विलियम र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनलगायत अन्तर्राष्ट्रिय व्यक्तित्व पनि उक्त सूचीमा समेटिएका छन्।

जलवायु परिवर्तनको जोखिम उच्च रहेको नेपालका लागि अर्थमन्त्री वाग्ले अन्तर्राष्ट्रिय प्रभावशाली व्यक्तित्वको सूचीमा पर्नुलाई जलवायु न्याय र वित्तसम्बन्धी बहसमा नेपालको उपस्थिति बलियो बनेको रूपमा हेरिएको छ।