कोठा नं. २०७ मा नेमप्लेट : आईजीपीबाट हटाइएका कार्कीका लागि सिंहदरबारमा कार्यकक्ष तयार

२०८३ कात्तिक २० गते

कोठा नं. २०७ मा नेमप्लेट : आईजीपीबाट हटाइएका कार्कीका लागि सिंहदरबारमा कार्यकक्ष तयार

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाइएका दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने सरकारी निर्णयसँगै उनका लागि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा छुट्टै कार्यकक्ष तयार गरिएको छ।

 

Advertisement:

Ad

प्रधानमन्त्री कार्यालयको दोस्रो तलामा रहेको कोठा नं. २०७ लाई कार्कीको कार्यकक्षका रूपमा तयार पारिएको हो। कोठाको ढोकै छेउमा ‘सुरक्षा सल्लाहकार, दानबहादुर कार्की’ लेखिएको नामप्लेटसमेत राखिएको छ। प्रधानमन्त्री कार्यालयका एक कर्मचारीका अनुसार यसअघि उक्त कोठा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुभाष शर्माले प्रयोग गर्दै आएका थिए।

 

कार्कीका लागि तयार गरिएको कार्यकक्षमा कुर्सी, सोफा र बैठकका लागि ठूलो टेबल राखिएको छ। अट्याच बाथरुमसमेत रहेको उक्त कोठा प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका कर्मचारीका कार्यकक्षसँगै छ।

 

रोचक के छ भने कार्कीलाई आईजीपीबाट हटाएपछि व्यवस्थापन गर्नकै लागि सरकारले बुधबार मात्रै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार पद सिर्जना गरेको थियो। पद सिर्जना भएको भोलिपल्टै उनका लागि कार्यकक्ष तयार पारेर नामप्लेटसमेत राखिएको छ। तर, सरकारले पद र कार्यकक्ष तयार गरे पनि कार्की भने नयाँ जिम्मेवारी सम्हाल्न तयार देखिएका छैनन्।

 

आफूलाई सरकारले गैरकानुनी रूपमा आईजीपीबाट हटाएको दाबी गर्दै कार्की सर्वोच्च अदालत पुगेका छन्। उनले बिहीबार वारेसमार्फत रिट निवेदन पेस गरेका छन्। यद्यपि, सर्वोच्च प्रशासनले रिट दर्ता गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गरिसकेको छैन। निवेदन अध्ययनकै क्रममा रहेको अदालत प्रशासनले जनाएको छ।

 

रिट दर्ता भए पनि तिहारपछि मात्रै त्यसको प्रारम्भिक सुनुवाइ अघि बढ्ने सम्भावना छ। आईजीपीको एकवर्षे कार्यकाल पूरा हुन एक साता बाँकी रहँदा सरकारले कार्कीलाई जिम्मेवारीबाट हटाएको थियो। उनको स्थानमा सोही ब्याचका एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएको छ।

 

प्रधानमन्त्री शाहसँग पछिल्लो समय कार्कीको सम्बन्धमा तिक्तता बढेको र त्यसैको परिणामस्वरूप उनलाई हटाइएको बताइन्छ। सरकारले भने उनलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने गरी नयाँ पद सिर्जना गरेको छ।