२०८३ कात्तिक १४ गते
काठमाडौं । प्रहरी संगठनविरुद्ध सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा गलत सूचना र सन्देश प्रवाह भइरहेको विषयमा प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेपछि पत्रकारलाई साइबर ब्युरोमा बोलाइएको नेपाल प्रहरीले जनाएको छ।
नयाँ पत्रिका दैनिकको कार्यालयमा प्रहरीले साढे दुई घण्टासम्म घेराउ गर्दै पत्रकारलाई पक्राउ गर्ने प्रयास गरेको घटनापछि प्रहरीले यस्तो स्पष्टीकरण दिएको हो। उक्त क्रममा अन्य केही सञ्चारगृहका पत्रकारलाई पक्राउ गरेर पछि छाडिएको थियो।
घटनाबारे प्रधानमन्त्रीको सचिवालय र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अनभिज्ञता जनाएका थिए। तर, नेपाल प्रहरीले राति वक्तव्य जारी गर्दै प्रधानमन्त्री कार्यालयको चासोपछि साइबर ब्युरोले सञ्चारकर्मीलाई बोलाएको स्पष्ट पारेको हो।
प्रहरीका अनुसार पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रहरीविरुद्ध गलत समाचार तथा सन्देश निरन्तर प्रचार भइरहेको विषयमा प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेको थियो। यस्ता गतिविधिले प्रहरीको व्यावसायिकता, सर्वसाधारणको विश्वास, सरकार र प्रहरी संगठनबीचको सम्बन्ध तथा अनुसन्धान प्रक्रियामा नकारात्मक प्रभाव पार्न सक्ने विषयमा कार्यालयले ध्यानाकर्षण गराएको प्रहरीको भनाइ छ।
प्रधानमन्त्री कार्यालयको चासोलाई सम्बोधन गर्ने क्रममा साइबर ब्युरोले केही सञ्चारकर्मीलाई कार्यालयमा बोलाएर प्रहरीविरुद्ध भइरहेका प्रचारको सत्यता, तथ्यपरकता र कानुनी आधारबारे सामान्य जानकारी लिएको प्रहरीले जनाएको छ।
सञ्चारकर्मीलाई बोलाउने कार्यलाई नियमित कार्यसम्पादनको हिस्सा भन्दै प्रहरीले यसबाट प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने उद्देश्य नरहेको दाबी गरेको छ।
‘त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएको कार्य प्रहरीको कार्यसम्पादनअन्तर्गतको सही मनसाय हो,’ प्रहरीको वक्तव्यमा उल्लेख छ।
प्रहरीले सुरक्षित समाज निर्माणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाप्रति प्रतिबद्ध रहेको जनाएको छ।
‘राज्यको चौथो अंग प्रेसप्रति नेपाल प्रहरी जहिले पनि सकारात्मक भावनाका साथ प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षाप्रति सदैव प्रतिबद्ध र कटिबद्ध रहने’ प्रहरीको भनाइ छ।
प्रतिक्रिया